search logo
NOTIFICATIONS

पोखरिया मा. वि. द्वारा सातलाख ६४ हजार बराबरको छात्रवृत्ति वितरण

हाम्रो पेज

११ असार २०८२, बुधबार १३:५३
विराटनगर, ११ अषाढ । मोरङको विराटनगरस्थित पोखरिया माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१/०८२ का लागि सातलाख ६४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ । विद्यालयले एक विशेष समारोहमार्फत छात्रवृत्ति वितरण गर्नुका साथै सेवा निवृत्त शिक्षकलाई सम्मानसमेत गरेको छ ।

विद्यालयले आयोजना गरेको कार्यक्रममा निवृत्त शिक्षकहरू सुशीला खनाल, लक्ष्मणबाबु दाहाल, तारावीर श्रेष्ठ र राधिका शर्मालाई सम्मान गरिएको हो । उनीहरूलाई प्रशंसा–पत्र, दोसल्ला र मायाको चिनो प्रदान गर्दै शिक्षा क्षेत्रमा पु¥याएको योगदानप्रति कृतज्ञता प्रकट गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै निवृत्त शिक्षक तारादेव दाहालले ३० वर्ष लामो शैक्षिक सेवामा हजारौं विद्यार्थीलाई शिक्षादीक्षा दिन पाएकोमा सन्तोष व्यक्त गर्नुभयो । सो अवसरमा कक्षा १ देखि १० सम्मका ३१ जना जेहेन्दार विद्यार्थीलाई जनही दुईजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैगरी, प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः चारहजार, तीनहजार र दुईहजार रुपैयाँका दरले पुरस्कार दिइएको थियो । यसअनुसार ३० जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप एकलाख ७४ हजार रुपैयाँको पुरस्कार वितरण गरिएको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।
कक्षा ११ मा विज्ञान विषय अध्ययनरत २० जना र व्यवस्थापन विषय अध्ययनरत ५ जना गरी २५ जनालाई पाँचलाख ७६ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो । यी छात्रवृत्ति आगामी वर्षहरूमा अझै विस्तार गर्ने विद्यालयको योजना रहेको भट्टराईले बताउनुभयो । यस्तै, गायत्री भवानी भट्टराई स्मृति कोष र लक्ष्मी स्मृति कोषमार्फत ५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । साथै विशेष प्रतिभा भएका दुईजना विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको थियो । यी सबै छात्रवृत्तिका दर जनही दुई हजार रुपैयाँ छ ।
सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले पोखरिया मा.वि. हरेक क्षेत्रमा अग्रणी रहेको दाबी गर्नुभयो । हाल विद्यालयका दुई विद्यार्थी कक्षा ९ का दीक्षित खतिवडा र मानस थापा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन थाइल्याण्ड गएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई प्रेरित गर्ने र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो । विद्यालयले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।