हाम्रो पेज
संखुवासभा, ८ अषाढ I कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई २१ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, संखुवासभाले ६२ वर्षीय दुर्गाबहादुर तामाङलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको हो।
प्रहरीका अनुसार, तामाङ पछिल्लो समय आफ्नै गाउँ चैनपुर नगरपालिका–९, खाम्लिङमा लुकीछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, चैनपुरबाट खटिएको टोलीले उनलाई असार ७ गते पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
के थियो घटना ?
तामाङ वि.सं. २०६१ चैत २२ गते भोजपुरका ३६ वर्षीय पर्शुराम विकको हत्या गरी फरार भएका थिए। उक्त मुद्दामा तत्कालीन पुनरावेदन अदालत, धनकुटाले २०६९ असार १७ गते तामाङलाई २ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि पनि उनी पक्राउ परेका थिएनन् र विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए। पक्राउ परेका तामाङलाई जिल्ला अदालत, संखुवासभामा पेश गरी अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय, खाँदबारी पठाइएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभएको छ ।
