हाम्रो पेज
विराटनगर, ४ अषाढ । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) को ५२ औं स्थापना दिवस मोरङ शाखाले सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरी मनाउने भएको छ । एनसीडिए मोरङ शाखाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरि आजदेखि १० गतेसम्म विभिन्न कार्यक्रम गरेर मनाउने जानकारी गराएको हो ।
वि.सं. २०३० सालमा स्थापित संघले औषधी व्यवसायको प्रवद्र्धन, अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्दै आएको संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले बताउनुभयो । हरेक वर्ष असार १० गते मनाइने स्थापना दिवसलाई यसपटक विशेष बनाउन सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको ढकालले बताउनुभयो । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन आज कोशी अस्पतालको बाल विभाग तथा कुपोषण शाखामा फलफूल वितरण कार्यक्रम, असार ५ गते विराटनगरस्थित हिमालय दर्शन कलेजमा लागुऔषध र मनोदीपक औषधी सम्बन्धी जनचेतनामूलक कार्यक्रम, सार ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा लागुपदार्थ परीक्षण किट हस्तान्तरण र असार ७ गते विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम हुनेछ । यस्तै असार ८ गते संघको भवन विराटनगरमा वरिष्ठ औषधी व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूको सम्मान कार्यक्रम, असार ९ गते विराटनगरको अस्पताल चोकमा रक्तदान कार्यक्रम, असार १० गते मुख्य दिन बिहान ७ बजे अस्पताल चोकदेखि संघको भवनसम्म प्रभातफेरी हुनेछ । त्यसपछि ९ बजे झण्डोत्तोलन र औपचारिक समापन समारोह आयोजना हुनेछ । सोही दिन साँझ दीप प्रज्वलन कार्यक्रमसहित सम्पूर्ण कार्यक्रम समापन हुने अध्यक्ष ढकालले जानकारी दिनुभयो ।