
विराटनगर, १३ मंसिर । नेकपा एमालेको विराटनगर महानगर र मोरङ जिल्ला कमिटीको प्रतिनिधि छनोट निर्वाचनमा संस्थापन इतर ईश्वर पोखरेल समूहका नेता विनोद ढकाल समूहले क्लिनस्वीप गरेको छ । महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधि छनोटमा नेता ढकाल नेतृत्वको प्यानल नै भारि मतका साथ विजयी भएको छ । आइतबार बिहान सम्पन्न मतगणनामा खुला, महिला र युवा तीनै क्लस्टरमा ढकाल पक्षधर उम्मेदवारहरू विजयी बनेका हुन् । क्षेत्र नम्बर ६ बाट ढकाल पनि उम्मेदवार रहनु भएको थियो । उहाँ सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुनु भएकोछ । ढकाल वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलमा रहनु भएकोछ । आइतबार सार्वजनिक मतपरिणाम अनुसार खुला, महिला र युवा तिनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवार निर्वाचित भएका छन् । खुला तर्फ ढकाल सर्वाधिक १,५२७ मत पाउनु भएको छ । उहाँकै प्यानलका उम्मेदवार पितकुमार श्रेष्ठले १,२८९, रमेशकुमार पोखरेलले १,२८६ र सत्यनारायण चौधरीले १,२७६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । युवा तर्फ ढकाल समूहबाट सन्तोष घिमिरे निर्वाचित हुनु भएको छ । मोरङमा प्रतिनिधिसभाका ६ र एक दलित गरी ७ वटा निर्वाचन क्षेत्र थिए । क्षेत्र नम्बर ४ को पनि मत परिणाम सार्वजनिक भएको छ । सो क्षेत्रबाट ६ प्रतिनिधि मध्ये संस्थापन समूहबाट पाँच जना निर्वाचित भए । एक जना पोखरेल समूहबाट निर्वाचित भए । क्षेत्र नम्बर ४ बाट नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, महेशप्रसाद भट्टराई, विमला घिमिरे, गुणावती देवी थारु र राम पोखरेल निर्वाचित हुनु भएको छ । भट्टराई इतर पक्ष र अन्य संस्थापन समूहका हुन् । ४६ प्रतिनिधि मध्ये ३८ प्रतिनिधि चयनका लागि मतदान भएको थियो । ८ प्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए ।


यसअघि महानगर जिल्ला अधिवेशनमा पनि ढकाल समूहले जित हात पारेको थियो । मोरङ एमालेभित्र ढकालको प्रभाव बलियो रहेको छ । शनिबार प्रतिनिधि छनौट प्रक्रियामा विवाद हुँदा नेता पर्शुराम बस्नेतमाथि हातपातसमेत भएको थियो । तर पछि विवाद सामान्य भएर सहज रुपमा निर्वाचन भएको थियो । विगतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै विश्वास पात्रका रुपमा रहेका ढकाल पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट हुनुहुन्छ ।
