हाम्रो पेज
विराटनगर, २७ जेठ I नेपालमा विदेशी मुद्रा सञ्चिति रकम २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित छ ।
गत असार मसान्तसम्मको तुलनामा वैशाखसम्म आउँदा मुद्रा सञ्चिति रकम २३ दशमलव १ प्रतिशतले बढेको छ । वैशाख मसान्तसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति रकम १८ अर्ब ४० करोड डलर बराबर रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा सञ्चिति असार मसान्तसम्मको तुलनामा २० दशमलव ५ प्रतिशतले बढेको हो । कुल सञ्चिति रकममध्ये राष्ट्र बैंकमा २२ खर्ब ११ अर्ब ११ करोड छ भने बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बराबरको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव २ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१ः८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव ४ महिनाको वस्तु आयात र १४ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
एक महिनाको अवधिमा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । २०८२ वैशाखमा मात्र विप्रेषण आप्रवाहले कीर्तिमान बनाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसअघि एकै महिनामा यो मात्रामा रेमिट्यान्स भित्रिएको थिएन । यससँगै चालु आर्थिक वर्ष २०८१र८२ को १० महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १३।३ प्रतिशत धेरै हो । अघिल्लो आवमा यो वृद्धि १६।९ प्रतिशतले वृद्धि भएको थियो ।
गत वर्ष वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ मात्र भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०।५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष १४ दशमलव ८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको २०८१ः०८२ को १० महिनासम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ । २०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।
मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति निरन्तर बचतमा छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ः८२ को १० महिनामा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा ३ अर्ब २३ करोडले शोधनान्तर स्थिति बचतमा रहेको छ । अघिल्लो वर्ष २ अर्ब ९४ करोडले बचतमा थियो ।