हाम्रो पेज
पोखरा५ श्रावण । पोखरामा कोरोना सङ्क्रमणका कारण एक वृद्धाको मृत्यु भएको छ। पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत ७४ वर्षीया महिलाको मृत्यु भएको हो। स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा. खिमबहादुर खड्काले उक्त घटनाको पुष्टि गर्नुभएको छ। अस्पताल प्रशासनका अनुसार, मृतक महिला उच्च रक्तचाप र मधुमेहजस्ता दीर्घ रोगबाट समेत पीडित हुनुहुन्थ्यो। उपचारका लागि अस्पताल भर्ना हुनुभएकी महिलामा ८ दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो, निर्देशक खड्काले भन्नुभयो, मृत्युको कारण अन्य रोग पनि हुन सक्छन्, तर कोरोना सङ्क्रमण पनि एक प्रमुख कारणको रूपमा पुष्टि भएको छ। यो घटनासँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम पुनः बढेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। हाल प्रदेशभर ८ जना सक्रिय सङ्क्रमित उपचाररत छन्। निर्देशनालयका अनुसार, सबैभन्दा धेरै कास्कीमा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना सक्रिय सङ्क्रमित रहेका छन्। निर्देशनालयले सङ्क्रमण दर बढ्न थालेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।