अपाङ्गता भएका व्यक्तिको प्रतिभा चयनका लागि ८८ जना छनोट

हाम्रो पेज

२२ जेष्ठ २०८२, बिहीबार १९:२९

विराटनगर, २२ जेठ I अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान कार्यक्रमका लागि ८८ जना सहभागी छनोट भएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले आज विराटनगरमा पत्रकार सम्मेलन गरि कोशी प्रदेशका १४ जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका दुईसय १४ मध्ये ८८ जनालाई छनौट गरिएको जानकारी गराएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ कोशीले कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजि कार्यक्रम गर्न लागेको हो ।

राष्ट्रिय स्तरका विभिन्न विधाका कलाकारहरू निर्णायक रहने प्रतिभा पहिचान कार्यक्रम आगामी असार २० र २१ गते विराटनगरमा संचालन गरिने भएको छ । कार्यक्रममा सहभागी हुन अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न विधामा आवेदनका साथै प्रतिभा देखाएर पठाएको छोटो भिडियोका आधारमा छनौट समितिले गायनमा ३३ जना, नृत्यमा ११ जना, अभिनयमा ३ जना, साहित्यमा १६ जना, बक्तृत्वकलामा २ जना, चित्रकलामा ११ जना, हस्तकलामा १० जना, नवप्रवद्र्धनमा १ जना र कार्यक्रम संचालकमा १ जना गरी जम्मा ८८ जनालाई दोस्रो चरणका लागि छनौट गरिएको करुणा फाउन्डेसनका केन्द्रीय कार्यालयको व्यवस्थापक सन्तोष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुशार छनौट भएका ८८ जनालाई असार १६ देखि १९ गतेसम्म विधा अनुसारका प्रशिक्षकबाट प्रशिक्षण तथा अभ्यास गराई उत्कृष्ट सहभागिहरूलाई फाईनलमा सहभागी गराईनेछ ।

अभ्यासबाट जिविकोपार्जन हुने खालका प्रतिभाहरुलाई फाईनलमा सहभागी गराईने घिमिरेले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान कार्यक्रम कोशी प्रदेशमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय अपाङ्ग महासंघ कोशीका अध्यक्ष नविनचन्द्र ढुङ्गेलले जानकारी दिनुभयो । पहिलो कार्यक्रमको प्रभावकारिताका आधारमा आगामी वर्षका लागि कार्यक्रम तय गरिने उहाँले बताउनुभयो ।