search logo
NOTIFICATIONS

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा बिभिन्न व्यक्ति सम्मानित

हाम्रो पेज

२७ श्रावण २०८२, मंगलवार २०:३३
विराटनगर, २७ श्रावण I कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले हरेक बर्ष प्रदान गर्दै आएको कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार विराटनगरका अग्रज पत्रकार महेन्द्र बिष्टलाई प्रदान गरिएको छ ।
प्रतिष्ठानले मंगलबार विराटनगरमा गरेको १६ औं स्मृति सभा एवम् पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बिष्टलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विष्टलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथै नगद २१ हजार एकसय १५ रुपैयाँ हस्तान्तरण गर्नुभयो । लामो समयदेखि पत्रकारितामा सक्रिय बिष्ट नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष हुन् । पत्रकारिता विषयको अध्यापनसमेत गराउँदै आउनुभएका विष्ट हाल गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ ।

यस्तै यसपटकको युवा उद्यमी सम्मानबाट ग्यालेक्सी सुज उद्योग विराटनगरका सञ्चालक चेतन निरौलालाई सम्मान गरिएको छ । २०५३ सालमा सानो लगानीबाट जुत्ता उद्योग सुरु गर्नुभएका निरौला अहिले आफ्नै ब्राण्ड दर्ता गरेर जुत्ता उद्योग सञ्चालन गरिरहनु भएको छ । निरौला हाल नेपाल घरेलु उद्योग महासंघ मोरङको अध्यक्ष हुनुहुन्छ ।

यस्तै प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको महिला उद्यमी सम्मानबाट यसपटक बराह हर्बल उद्योग विराटनगरकी सञ्चालक अम्बिका भण्डारी सम्मानित हुनुभएको छ । भण्डारीले अहिले सौन्दर्यका सामग्रीको उत्पादन तथा विक्रि वितरण गर्दै आउनुभएको छ । भण्डारी हाल नेपाल घरेलु महासंघ मोरङको महिला समिति संयोजक हुनुहुन्छ ।
यसैगरी स्वर्गीय सिग्देलले अध्ययन गर्नुभएको सुनसरीको मधुवनस्थित जनता माध्यमिक विद्यालयबाट २०८० सालको एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रा पिंकीकुमारी स्वर्णकार र २०८१ सालमा उत्कृष्ट अंक ल्याउने छात्र सुशीलकुमार खत्वेलाई नगद एघारहजार एकसय एघारसहित कदर पत्र प्रदान गरिएको छ । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीले सम्मान पत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।

साथै सिग्देल परिवारले संचालन गरेको व्यवशायिक संस्था स्वस्तिका ट्रान्सपोर्ट प्रा. लि.का कर्मचारीको कर्मचारी कल्याण कोष र चालक कल्याण कोषलाई नगद क्रमशः ५१ हजार र २१ हजार तथा १७ जना मजदुरहरुलाई कपडा र मजदुर कोषमा पनि २१ हजार नगद प्रदान गरिएको प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देलले जानकारी दिनुभयो । विराटनगरका युवा व्यवशायी कृष्णप्रसाद सिग्देलको २०६६ साल श्रावण २७ गते काठमाडौँमा ४८ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । त्यसयता उहाँको नाममा स्थापित प्रतिष्ठानले हरेक बर्ष बिभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।