हाम्रो पेज
विराटनगर, २० भाद्र । एशियाकै दोस्रो ठूलो ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा शनिबार विराटनगरमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट परम्पराअनुसार निकालिएको रथयात्रामा विराटनगरसहित मोरङका विभिन्न स्थानीय तह, सुनसरी तथा भारतको बिहारलगायत क्षेत्रबाट आएका लाखौं भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो।
तीनपैनीस्थित श्रीराधाकृष्ण मन्दिरबाट सुरु भएको ५९ औं रथयात्रा मेनरोड, रोडशेष चोक, धरान रोड हुँदै बरगाछी पुगेर पुनः श्रीराधाकृष्ण मन्दिरमा पुगेर (आठ किलोमिटरको दुरी) सम्पन्न भएको हो। रथयात्राको मार्गभरि श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो भने विभिन्न संघसंस्था तथा स्थानीयवासीले पानी, सर्वत, खीरलगायत प्रसाद वितरण गरेका थिए।

भगवान श्रीकृष्ण र राधाको दर्शन तथा रथ तान्न पाउँदा पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण हरेक वर्षझैँ यस वर्ष पनि भक्तजनको उल्लेख्य सहभागिता देखिएको थियो। रथयात्राको क्रममा भक्तजनले भजन–कीर्तन, जयघोष तथा धार्मिक सांस्कृतिक प्रस्तुतिमार्फत उत्सवलाई थप उल्लासमय बनाएका थिए।
यस वर्षको रथयात्रा सुरक्षा व्यवस्थापनका दृष्टिले पनि सफल मानिएको छ। मोरङ प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सुरक्षा निकायहरूको सक्रिय परिचालनका कारण रथयात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। रथयात्राको क्रममा अवाञ्छित गतिविधिमा संलग्न केही व्यक्तिलाई मोरंग प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रशासनले ठूलो संख्यामा सुरक्षा जनशक्ति परिचालन गर्नुका साथै भीड व्यवस्थापन, यातायात सञ्चालन तथा आपत्कालीन सेवाको व्यवस्था मिलाएको थियो। सुरक्षा निकायको प्रभावकारी समन्वय र भक्तजनको अनुशासित सहभागिताका कारण रथयात्रा सफलतापूर्वक सम्पन्न भएको प्रशासनले जनाएको छ।
नेपालकै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वमध्ये एक मानिने विराटनगरको श्रीराधाकृष्ण रथयात्राले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्दै यस वर्ष पनि ऐतिहासिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।