हाम्रो पेज
काठमाडौँ, चैत २० गते । प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद डिपी अर्यालको एकल उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्ने निर्धारित समयभित्र अर्यालको मात्र प्रस्ताव परेपछि उहाँ निर्विरोध निर्वाचित हुनु भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सो अवधिमा अर्यालको तर्फबाट मात्र उम्मेदवारी परेपछि उहाँ संसद्को नेतृत्व गर्ने तयारीमा पुग्नुभएको छ । संसद्का प्रवक्ता एकराम गिरीका अनुसार, चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त प्रस्ताव पेस गरिने कार्यसूची रहेको छ । बैठकमा प्रस्तावक र समर्थकले आफ्नो धारणा राखेपछि अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । प्रवक्ता गिरीले भन्नुभयो, ूनिर्वाचित घोषणा भएलगत्तै उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने छ र त्यसपछिको बैठक सञ्चालनको जिम्मेवारी सम्हाल्नुहुने छ । विगत केही समयदेखि सभामुख पद रिक्त रहँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गर्दै आउनुभएको छ । नयाँ सभामुख चयन भएसँगै संसद्ले पूर्णकालीन नेतृत्व पाउने भएको छ । नवनियुक्त सभामुख अर्यालले आइतबार सपथग्रहण गर्ने हुनु भएकोछ ।राष्ट्रपति कार्यालयका अनुसार, नवनियुक्त सभामुख अर्यालको सपथ आइतबार दिउँसो ३ बजे तय गरिएको हो। शितल निवासमा हुने सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ। अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोविता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहनु भएको छ ।