मोरङ कारागारमा महिला कैदीबन्दी मृत फेला

हाम्रो पेज

११ भाद्र २०८२, बुधबार १२:०८

विराटनगर, ११ भाद्र । विराटनगर महानगरपालिका–८, हाटखोलास्थित जिल्ला कारागार मोरङमा एक दुखद घटना भएको छ। कारागारको शौचालयभित्र ३२ वर्षीया राधिका भनिने राधा भट्टराईको शव झुन्डिएको अवस्थामा फेला परेको छ। जेलर गौरव ढुंगेलले दिएको जानकारीअनुसार, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ निवासी भट्टराईलाई बुधबार बिहान करिब ४ः३० बजे शौचालयभित्र सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको थियो। शौचालयको ढोका भित्रबाट बन्द रहेको बताइएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनास्थलको प्रकृति हेर्दा प्रारम्भिक रूपमा आत्महत्याको आशंका गरिएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ डीएसपी चुँडालको नेतृत्वमा प्रहरी टोली अनुसन्धानका लागि खटिएको छ। जेलर ढुंगेलले भट्टराईका आफन्त तथा परिवारलाई घटनाबारे जानकारी गराइसकिएको बताएका छन्। कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइने र थप विवरण अनुसन्धानपछि खुल्ने उनको भनाइ छ। भट्टराईमा पहिलेदेखि नै डिप्रेसनको समस्या रहेको बताइएको छ। २०८० माघको पहिलो साता उनले आफ्ना २ सन्तान ९एक छोरा र एक छोरी०सहित सप्तकोशी नदीको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा हामफालेकी थिइन्। स्थानीय प्रत्यक्षदर्शीहरूले उनलाई र छोरालाई सकुशल उद्धार गरे पनि करिब ६ वर्षकी छोरीको भने दुर्भाग्यवश मृत्यु भएको थियो। त्यस घटनाको अनुसन्धानपछि प्रहरीले उनलाई २०८० माघ ५ गते पक्राउ गरेको थियो। अनुसन्धान सम्पन्न भएपछि जिल्ला अदालत सुनसरीमा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरियो। अदालतले २०८० माघ २३ गते उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई कारागार चलान गरिएको थियो। जेलर ढुंगेलका अनुसार, २०८१ साल कात्तिक ७ गते अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २५ वर्ष जन्म कैदको सजाय सुनाएको थियो। त्यसयता उनी जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेकी थिइन्। जिल्ला कारागार मोरङमा हाल २ जना आश्रित बालकसहित १ सय ७ जना महिला कैदीबन्दीहरू रहेका छन्।