हाम्रो पेज

सुनसरी, ११ श्रावण । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा सर्वसाधारण, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल २२ जना घाइते भएका छन्। घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ भने देवानगञ्ज गाउँपालिकाले दुई दिन शोक बिदा घोषणा गरेको छ।
कसरी सुरु भयो विवाद ?
प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे साउने सोमबारको बोलबम यात्राका लागि युवाहरूको एक समूह डिजे बजाउँदै सप्तकोसी नदीतर्फ जल लिन जाने तयारीमा थियो। डिजेको ठूलो आवाजका कारण अर्को समूहले विरोध जनाएपछि सामान्य भनाभन सुरु भयो। केहीबेरमै विवाद ठेलाठेल हुँदै दुई समुदायबीचको झडपमा परिणत भयो। स्थिति तनावपूर्ण बनेपछि प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गरे पनि सफल हुन सकेन। त्यसपछि दुवै समुदायका थप व्यक्तिहरू लाठी, बाँस, ढुंगा, इँटा, चिर्पट तथा धारिलो हतियारसहित घटनास्थलमा पुगेपछि अवस्था थप उग्र बनेको प्रहरीले जनाएको छ।
प्रहरीमाथि पनि आक्रमण
घटनास्थलमा इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की, साहेबगञ्ज तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। तर दुवै पक्षबाट सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा र आक्रमण भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको बताइएको छ। झडपमा नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य सुरक्षाकर्मी पनि उपचाररत छन्। सशस्त्र प्रहरीका अनुसार अवस्था नियन्त्रणबाहिर जान थालेपछि राति करिब १०ः४५ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले हवाई फायर तथा अश्रुग्यास प्रयोग गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका ओमप्रकाश मेहतालाई तत्काल विराटनगरस्थित न्युरो अस्पताल लगिए पनि चिकित्सकले राति करिब ११ः२५ बजे मृत घोषणा गरेका थिए।
घटनामा गोली लागेर जयप्रकाश मेहता गम्भीर घाइते भएका छन्। साथै मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता, सुनीलकुमार मेहतालगायत अन्य घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल तथा नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुई दिन शोक बिदा
ओमप्रकाश मेहताको निधनपछि देवानगञ्ज गाउँपालिकाले सोमबार र मंगलबार साउन ११ र १२ गाउँपालिकाभित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन शोक बिदा घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जारी गरेको सूचनामा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदा दिइएको उल्लेख छ।
पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको दक्षिणी क्षेत्रका पाँच प्रमुख स्थानमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सोमबार बिहान ७ बजेदेखि लागू भएको कर्फ्यु अवधिभर सर्वसाधारणको आवतजावत, भेला, जुलुस, सभा तथा प्रदर्शनमा पूर्ण रोक लगाइएको छ। घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी दंगा नियन्त्रण गण, कोशी प्रदेश प्रहरी गण रानी तथा सशस्त्र प्रहरीका थप टोली परिचालन गरिएको छ। रातभर तनाव रहे पनि हाल दुवै समुदायलाई छुट्टाछुट्टै राखेर सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ भने प्रशासनले स्थानीयलाई संयम अपनाउँदै कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुनसरीमा दुई समुदायबिचको झडप र प्रहरीको गोली प्रहार घटनाको छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय भएको गृह मन्त्रालयकी सहायक प्रवक्ता रमा आचार्यले जानकारी दिनुभयो ।घटनापछि सोमबार बिहान नौ बजे गृहमन्त्रीको अध्यक्षतामा सुरक्षा प्रमुखसहितको बैठक बसेको थियो। बैठकपछि समिति गठन भएको हो। साथै, आजै पाँच बजे केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाइएको छ।