पूर्वप्रधानमन्त्री र गृहमन्त्रीपछि काठमाडौंका पूर्व प्रजिअ पनि पक्राउ

हाम्रो पेज

१७ चैत्र २०८२, मंगलवार १३:४२

काठमाडौं, १७ चैत । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रजिअ छविलाल रिजाललाई प्रहरीले सुविधानगरबाट पक्राउ गरेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बानेश्वरमा किशोरहरूको ज्यान जाने गरी भएको गोलीकाण्ड र दमनको आरोपमा उहाँलाई पक्राउ गरिएको हो। रिजाल जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ हुनुहुन्थ्यो । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसक्नु भएको छ । तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र महानिरीक्षक राजु अर्याल, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालविरुद्ध मुलुकी अपराध संहिताको दफा १८२ अनुसार फौजदारी कसुरमा कारबाही सिफारिस गरिएको थियो । दफा १८२ मा ‘हेलचक्य्राइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ । मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीका हकमा वेग्लै अध्ययन समिति गठन गरेर त्यसको सिफारिसअनुसार गर्ने निर्णय गरेको थियो । रिजाल तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिनुहुन्छ । जेनजी आन्दोलनमा दमन गरेपछि उहाँ काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बहिर्गमन हुनु भएको थियो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा काठमाडौंका तत्कालीन सीडीओ रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताउनु भएको छ । जाँचबुझ आयोगसमक्ष रिजालले दिएको बयानमा आफूले अन्तिम बल अर्थात् सिधै गोली चलाउने आदेश नदिएको उल्लेख गर्नुभएको छ । तिनै रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख हुनुहुनथ्यो । तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उहाँमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरीत काम गरेको’ आरोप समेत छ । अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। पूर्वप्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री लेखकलाई अदालतमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।