
काठमाडौं,६ आश्विन । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै ५ जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएकी डा. संगीता कौशल मिश्राको नियुक्ति भने तत्कालका लागि होल्ड गरिएको छ। प्रधानमन्त्रीले सिफारिस गरेका मन्त्रीहरूमा अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार, जगदीश खरेल र डा. संगीता कौशल मिश्राको नाम रहेको छ। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह एक घण्टा सारिएको छ । शीतल निवासमा यसअघि दिउँसो २ बजेलाई तय गरिएको शपथ कार्यक्रम ३ बजेलाई सारिएको हो । डा. मिश्राबाहेक अन्य मन्त्रीहरूले आजै शपथ लिने कार्यक्रम रहेको बताइएको छ। सिफारिसअनुसार, अनिलकुमार सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जगदीश खरेललाई सूचना तथा सञ्चार मन्त्रालय र डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइने भनिएको थियो।तर, डा. मिश्राको नियुक्ति होल्डमा राखिएको छ। उहाँ यसअघि नै सरकारी सेवाबाट विश्राम लिएर ‘जेनजी आन्दोलन’मा सक्रिय भइ पुनः सेवामा फर्किनुै भएको थियो । आइतबार मात्रै उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । उहाँको नियुक्ति रोकिएको विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। तर, स्वास्थ्य मन्त्रालयमा ६ महिनाभन्दा बढी अनुपस्थित, म्यामोग्राम मेसिनको खरिदमा अनियमितता, अख्तियारमा परेको विभिन्न खरिद फाइलहरू र ११औं तहमा पदस्थापनका क्रममा कागजात किर्तेको विवाद जस्ता विषयहरू बाहिरिएपछि नियुक्ति होल्डमा राखिएको बताइएको छ।