हाम्रो पेज
काठमाडौं,५ भाद्र । गत भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसले कल्पनाभन्दा बाहिरको क्षतिको सामना गरेको छ। यस प्रदर्शनले पार्टीका ४८ जिल्ला कार्यालयहरूलाई ध्वस्त बनाएको छ भने सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित ९५ जना केन्द्रीय तथा स्थानीय नेताहरूको निजी निवासमा समेत आगजनी, तोडफोड र लुटपाट भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार जारी गरेको विज्ञप्तिमा यो भयावह स्थितिको विस्तृत जानकारी दिइएको छ। विज्ञप्तिअनुसार, ३६ जना केन्द्रीय नेताका घरहरूमा समेत आक्रमण भएको छ। विश्वकर्माले सार्वजनिक गरेको सूचीमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, ललितपुर, काठमाडौँ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, डोल्पा, जुम्ला, मुगु, कालिकोट, सुर्खेत, डोटी, अछाम, दार्चुला, डडेलधुरा, कञ्चनपुर र कैलालीका पार्टी कार्यालयहरू जलाएर ध्वस्त पारिएका छन्। यसरी हेर्दा देशको अधिकांश भूभागमा कांग्रेसले ठूलो नोक्सानी भोगेको छ। जेनजी प्रदर्शनकारीले कांग्रेसको केन्द्रीय कार्यालयमा समेत भयानक क्षति पुर्याएका छन्। मीन विश्वकर्माका अनुसार केन्द्रीय कार्यालय पूर्ण रूपमा जलेर ध्वस्त भएको छ र कुनै पनि सामान जोगिन सकेन। यसबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
आन्दोलनकारीले नेपाली कांग्रेसका शीर्ष नेताहरूलाई समेत निशाना बनाएका छन्। सभापति शेरबहादुर देउवासहित ३६ जना केन्द्रीय नेताहरूको घर जलाइएको छ। यसमा उपसभापति पूर्णबहादुर खड्का काठमाडौँ र सुर्खेत, महामन्त्री गगन थापा रातोपुल, महामन्त्री विश्वप्रकाश शर्मा ललितपुर र झापा, सहमहामन्त्री उमाकान्त चौधरी बारा, सहमहामन्त्री महेन्द्र यादव धनुषा, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे काठमाडौँ र कोषाध्यक्ष उमेश श्रेष्ठ चितवनका घरहरूमा ठूलो क्षति पुगेको छ। पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालाका घरहरू पनि जलेर ध्वस्त पारिएका छन्। यस्तै, पूर्वसहमहामन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत तथा केन्द्रीय सदस्यहरू डा.शेखर कोइराला, सञ्जय गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, शंकर भण्डारी, दीपक गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रामजनम चौधरी, डा. गोपाल दहित, मदनकृष्ण श्रेष्ठ, अर्जुनप्रसाद जोशी, आनन्द ढुंगाना, राजेन्द्र केसी, विनोद चौधरी, गेहेन्द्र गिरी, राजीव ढुंगाना र अनिल रुङगटाको पनि घरमा क्षति पुगेको छ। यसबाहेक, बागमती प्रदेश सभापति एवं बागमती प्रदेश मुख्यमन्त्री इन्द्र बानिया र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको निवासमा समेत जेनजी आन्दोलनकारीले आगजनी गरेका छन्। पार्टीले यसको विस्तृत मूल्यांकन र भावी कदमबारे छलफल गरिरहेको जनाएको छ।