search logo
NOTIFICATIONS

महिला उद्यमी सरु केसीको निधन

हाम्रो पेज

१० जेष्ठ २०८३, आईतवार १३:५६

विराटनगर, १० जेठ I उद्यमशीलता र सामाजिक सेवामा सक्रिय सरु केसीको निधन भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिकी निवर्तमान कार्यसमिति सदस्य तथा महिला उद्यम विकास समितिकी सभापति केसी लामो समयदेखि मिर्गौला सम्बन्धी रोगले ग्रसीत हुनुहुन्थ्यो I उहाँको आज बिहान तीन बजे विराटनगर ५ स्थित आफ्नै निवासमा निधन भएको हो I

वि.सं. २०२८ सालमा विराटनगरमा जन्मिनुभएकी केसी उद्यमी मात्र नभई बालबालिका विकास क्षेत्रमा समेत समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँ नेपाल उद्योग वाणिज्य महासंघको दुई कार्यकाल सदस्य रहनुका साथै महिला उद्यम विकास समितिको नेतृत्वमा सक्रिय हुनुहुन्थ्यो ।

केसीले सेतो गुराँस बाल विकास सेवा मोरङको अध्यक्षका रूपमा दुई दशकभन्दा बढी समय बालबालिकाको क्षेत्रमा योगदान दिनुभएको छ I

व्यवसायिक परिवारमा हुर्किएकी केसीले सानैदेखि उद्योग–व्यवसायमा समेत चासो राख्ने गर्नु हुन्थ्यो । विभिन्न उद्योग सञ्चालनसँगै सामाजिक क्षेत्रमा सक्रिय भूमिका निभाउनुभएकी केसीको निधनले कोशी प्रदेशको उद्यम र सामाजिक क्षेत्रमा क्षति पुगेको भन्दै विभिन्न क्षेत्रका व्यक्तिले दु:ख व्यक्त गरेका छन् ।

स्वर्गीय केसीका दुई छोरी छन् I उहाँको आजै स्थानीय परोपकार घाटमा अन्तिम संस्कार गरिएको छ I