मोरङको रंगेलीमा वीभत्स हत्याकाण्डः श्रीमतीको हत्यागरी आत्महत्या

हाम्रो पेज

२० माघ २०८२, मंगलवार १३:३७

विराटनगर, २० माघ । मोरङको रंगेली ५ धनपट्टीमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । रंगेली नगरपालिका–५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेपछि आफूले पनि आफ्नै ज्यान लिएका छन् । मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी लीलाराज लामिछानेका अनुसार घटना मंगलबार बिहान करिब २ः ४५ बजेतिरको हो । मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घर पुगेका थिए । राति सुतेकै ठाउँमा श्रीमती २१ वर्षीया अम्बिकाकुमारी मण्डलसँग विवाद भएपछि उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरेलु विवादका क्रममा मुकेशले अम्बिकाकुमारीमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएलगत्तै मुकेशले पनि सोही चक्कुले आफ्नै घाँटी रेटेको डीएसपी लामिछानेले जानकारी दिनुभयो । मुकेशको पनि घटनास्थलमै मृत्यु भएको छ । घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरीले अहिले दुवैको शव कानुनी प्रक्रिया पूरा गरि शवलाई कोशी अस्पतालमा ल्याएको छ । उनीहरूबीच कुन विषयलाई लिएर विवाद भएको थियो भन्नेबारे अझै यकिन हुन सकेको छैन । केही महिना अघि मात्रै विवाह बन्धनमा बाधिएका उनीहरुबीच घरेल विवाद हुँदै आएको स्थानीयले बताएका छन् । प्रहरीले भने अनुसन्धानपछि मात्रै घटनाको कारण खुल्ने बताएको छ ।