search logo
NOTIFICATIONS

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

हाम्रो पेज

१८ माघ २०८२, आईतवार ११:५६
 
काठमाडौं, १८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले आज जापान भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलले आइतबारदेखि आगामी माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने तालिका रहेको छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणा अनुसार उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जानु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुनेछ । उहाँले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताउनुभयो । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरर्नुहुने छ । यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनाका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनुहुनेछ। भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्किन कार्यक्रम तय भएको छ ।