प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर उमेदवार मनोनयन दर्ता हुँदै, उम्मेदवारी दिन १० कागजात चाहिने

हाम्रो पेज

६ माघ २०८२, मंगलवार ११:२८

काठमाडौं, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर उमेदवार मनोनयन दर्ता हुँदै छ । सम्बन्धित जिल्ला र क्षेत्र पुगेर उमेदवारले आज जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा मनोनयन दर्ता गर्नुपर्नेछ । उमेदवारी मनोनयनका लागि बिहान १० देखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उमेदवार दर्ता गर्दै छ । आयोगले उमेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उमेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उमेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताका साथै १० किसिमका कागजात आवश्यक पर्दछ । उम्मेदवारी दर्ता गर्दा मतदाता नामावली ऐन २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ र निर्वाचन आचारसंहिता २०८२ बमोजिमका कागजात चाहिन्छ । सूचना अधिकारी घिमिरेका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ । उम्मेदवारको नाम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा समावेश भएको निस्सा आवश्यक हुनेछ । यदि उम्मेदवार सरकार वा सरकारी स्वामित्वको संस्थामा बहाल छन् भने, सो पदबाट राजीनामा दिएको प्रमाण पेस गर्नुपर्नेछ । प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गर्ने भए, प्रतिनिधि तोकेको फारम अनिवार्य छ । प्रचलित कानुन अनुसार योग्यता पुगेको उम्मेदवारले मनोनयन दर्ता गर्दा सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण र हस्ताक्षर सहितको मनोनयन पत्र पेस गर्नुपर्नेछ । दलको तर्फबाट उम्मेदवारी दिएको भए, दलको केन्द्रीय कार्यकारिणी समितिले जारी गरेको औपचारिक मनोनयन पत्र अनिवार्य हुन्छ र र संयुक्त दलको हकमा छुट्टै ढाँचाको पत्र आवश्यक हुनेछ । उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ । तर महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई ५० प्रतिशत छुट हुनेछ । आर्थिक रूपमा विपन्नको हकमा सम्बन्धित स्थानीय तहले दिएको सिफारिस पत्र आवश्यक हुन्छ । उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको स्वघोषणा पत्र पेस गर्नुपर्नेछ । उम्मेदवारले आफ्नो चल–अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र र ऋणरउधारो समेतको सम्पूर्ण विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्नेछ । उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको वैयक्तिक विवरण फाराम अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायवाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फछपौट भएको प्रमाण पेस गर्नुपर्नेछ । लेखा परीक्षणबाट उम्मेदवारको नाममा बेरुजु कायम भए सो बेरुजु फछौट प्रमाण आवश्यक हुनेछ । उम्मेदवारले निर्वाचन आचारसंहिता २०८२ अनुसारको प्रतिबद्धता पत्र पनि पेस गर्नुपर्नेछ । यी सबै कागजात पूरा भए मात्र उम्मेदवारी दर्ता मान्य हुनेछ । उम्मेदवारी दिन चाहनेले सबैले समयमै कागजात तयारी गर्न र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । सूचना अधिकारी घिमिरेका अनुसार निर्वाचन आयोगको वेबसाइटमै आवश्यक फारम राखिएको छ । वर्ड फर्म्याटमा र पिडिएफ दुवैमा राखिकाले त्यसलाई डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ ।