नेपाली कांग्रेस विभाजित, देउवा समूहद्वारा गगन–विश्वप्रकाशसहित नेतामाथि पाँच वर्षे कारबाही

हाम्रो पेज

३० पुष २०८२, बुधबार १९:३१

काठमाडौं, ३० पुष । नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको माग सम्बोधन गर्न संस्थापन समूह तयार नभएपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट कारबाही गर्ने निर्णय गरेको छ । देउवा समूहले उनीहरूलाई पार्टी अनुशासन उल्लंघन, समानान्तर गतिविधि र असंवैधानिक रूपमा विशेष महाधिवेशन आयोजना गरेको आरोप लगाएको छ । कारबाहीको निर्णय केन्द्रीय तहबाट सार्वजनिक भएसँगै कांग्रेसभित्रको आन्तरिक विवाद औपचारिक विभाजनमा परिणत भएको हो । यता, गगन–विश्वप्रकाश समूहले आह्वान गरेको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ । विशेष महाधिवेशनले पार्टी सभापतिमा गगन थापालाई चयन गर्ने तयारी तीव्र बनाएको जनाइएको छ । निर्वाचन समिति गठन भइसकेको र मतदान प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको नेताहरूले बताएका छन् । कांग्रेसको यो विभाजनले पार्टीको कानुनी हैसियत, निर्वाचन आयोगको मान्यता र आगामी राजनीतिक समीकरणमा गम्भीर प्रभाव पार्ने देखिएको छ । विश्लेषकहरूका अनुसार यो घटनाक्रमले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गरेको छ ।

यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशनले उपसभापतिमा फरमूल्लाह मन्सुरलाई चयन गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले मन्सुरलाई उपसभापति चयन गरेको हो। कांग्रेसका दुई उपसभापतिमध्ये एक जना मन्सुर टुंगो लागेको नेता अजयबाबु सिवाकोटीले बताउनुभयो । अर्को उपसभातिका लागि उम्मेदवारहरूसँग छलफल भइरहेको छ। नेता गगन थापाले उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको सिवाकोटीले जानकारी दिनुभयो । विश्वप्रकाश शर्माले कुनै पदमा रुचि नदेखाएको भए पनि उपभासपतिमा बस्न गगन थापाले आग्रह गरिरहेको उहाँको भनाइ छ। यसअघि मन्सुर कांग्रेसका सहमहामन्त्री हुनुहुन्थ्यो । उहाँ १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित हुनु भएको थियो । कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मन्सुरलाई पनि कारबाही गरेको छ। उहाँलाई साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय गरिएको छ। यस्तै नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन हुनु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो। नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे चयन भएको बताउनुभयो । अन्य पदाधिकारी टुंगो लगाउन गगन थापा र पदाधिकारीका उम्मेदवारबीच छलफल भइरहेको छ। कांग्रेसको १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बन्नु भएका पौडेल महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित हुनु भएको थियो । यस्तै नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ । बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय खारेज गरेको हो । कारबाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरूलाई निष्कासन गर्ने कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताउनुभयो । उहाँले कहिदिनअघि विशेष महाधिवेशन सुरु हुँदै सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भङ्ग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताउनुभयो ।
उहाँले कांग्रेस पार्टी आफूहरूको भएकाले कसैले यसमा दाबी गर्न नसक्ने स्पष्ट पार्नुभयो । पार्टीको विधान अनुसार नै आफूहरू चलिरहेको भन्दै कारबाहीको निर्णयका कारण विचलित नहुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफूलाई लागेको निर्णय गरेपनि पार्टीलाई अघि बढाउने काम अब विशेष महाधिवेशनको हलले गर्ने बताउनुभयो । उहाँले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गर्नुभयो । उपसभापतिमा चयन फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।