भेनेजुएलाका राष्ट्रपति मादुरो अमेरिकाको हिरासतमा,आँखामा पट्टी, हातमा हतकडी

हाम्रो पेज

२० पुष २०८२, आईतवार ११:२३

एजेन्सी, २० पुष । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरको तस्बिर सार्वजनिक गरेका हुन्। मादुरोको पत्नीसमेत पक्राउ गरिएको भनिए पनि तस्बिरमा भने उनी छैनन्। तस्बिरमा मादुरोको आँखामा लगाउने पट्टी, खैरो ट्र्याकसूु र हेडफोन अनि हातमा हतकडी लगाइएको छ। मादुरोको तस्बिरसहित ट्रम्पले क्याप्सनमा लेखेका छन्, ‘निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा।’ घटनापछि ट्रम्पले फ्लोरिडामा पत्रकार सम्मेलन गरेका छन्। जहाँ उनले भने, ‘शक्तिको सुरक्षित, सही र समझदारीपूर्ण परिवर्तन नभएसम्म भेनेजुएला संयुक्त राज्य अमेरिकाले चलाउनेछ।’ यस क्रममा उनले अमेरिकी सेनाको प्रशंसा पनि गरे। ट्रम्पले भने, ‘तयार अवस्थामा भए पनि भेनेजुएलाको सेना पूर्ण रूपमा आत्तियो र चाँडै पराजित भयो।’ उनले थपे, ‘अपरेसनका क्रममा कुनै पनि अमेरिकी सैनिक मारिएनन्, न त उनीहरूको हतियार वा उपकरणमा क्षति पुगेको छ।’ ट्रम्पले अमेरिकाले ‘समुद्रबाट आउने ९७ प्रतिशत लागुपदार्थको ओसारपसार समाप्त पारेको’ दाबी गरे। ट्रम्पले कुनै हताहती नभएको बताएपनि भेनेजुएलामा ४० जना मारिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । यसअघि शनिबार ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको बताएका थिए। यस्तै अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले अब उनीहरूविरुद्ध मुद्दा चलाइने घोषणा गरेकी थिइन्। बोन्डीले एक्समा लेखेकी छन्, ‘निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को–आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र खतरनाक उपकरण राख्ने षड्यन्त्र गरेको अभियोग छ।’ ‘उनले चाँडै अमेरिकी भूमिमा, अमेरिकी अदालतमा, अमेरिकी न्यायको सामना गर्नेछन्’, उनले थपेकी छन्।


भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस समेत सवार रहेको भनिएको विमान न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको थियो । अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार विमान अवतरण गरेलगत्तै कानुन कार्यान्वयन निकायका अधिकारीहरू विमानभित्र प्रवेश गरेका थिए । न्युयोर्कमा अवतरण गरेको मादुरो सवार विमानसँग सम्बन्धित दृश्यहरु सार्वजनिक भएको छन् । जहाँ हल्का निलो रङको लुगा लगाएको एक व्यक्तिलाई दर्जनौँ सुरक्षा अधिकारीहरूले धावनमार्ग हुँदै अघि बढाइरहेको देखिन्छ । विमान धावनमार्गमा रोकिएसँगै उक्त क्षेत्र वरिपरि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको थियो। उता भेनेजुएलाको सर्बोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिग्जले अन्तरिम राष्टपतिको पदभार सम्हाल्नुपर्ने जनाएको छ । मादुरोलाई अमेरिकाले कब्जा गरेर लगेपछि भेनेजुएला अहिले अमेरिकी कब्जामा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भेनेजुएला अमेरिकाले चलाउने घोषणा गरेका छन् ।अदालतले देशको सम्प्रभुता जोगाउने सन्दर्भमा उपराष्ट्रपतिले प्रशासनिक नेतृत्व गरेर जानुपर्ने आदेश दिएको हो । संवैधानिक प्रक्रियाअनुसार उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक रूपमा देशको नेतृत्व सम्हालेकी छन् । लामो समयदेखि मादुरो प्रशासनको सबैभन्दा विश्वासपात्र र शक्तिशाली व्यक्तित्व मानिने रोड्रिगेज अहिले भेनेजुएलाको राजनीतिक केन्द्रमा उभिएकी छन् । ५५ वर्षीया डेल्सी एलोइना रोड्रिगेज गोमेज भेनेजुएलाको सत्तारूढ वामपन्थी आन्दोलनकी अनुभवी नेतृ हुन् । उनी पूर्व राष्ट्रपति ह्युगो चाभेजको बोलिभेरियन क्रान्तिबाट उदाएकी नेतृमध्ये एक हुन्। पेशाले वकिल रोड्रिगेजले अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार क्षेत्रमा अध्ययन गरेकी छन् । उनका बुबा सन् १९७० को बेला कम्युनिस्ट छापामार थिए ।डेल्सी रोड्रिगेजलाई मादुरो शासनको ‘आइरन लेडी’ का रूपमा हेरिन्छ। यसअघि उनले भनेकी थिइन, ‘भेनेजुएला सरकार दुवै जना जीवित रहेको प्रमाण तत्काल दिन माग गर्छ।’ उपराष्ट्रपति रोड्रिगेजले देश कहिल्यै कुनै अन्य राष्ट्रको उपनिवेश नहुने स्पष्ट पार्दै अमेरिकाको आक्रमणप्रति कडा विरोध जनाएकी छिन् ।टेलिभिजनमा सम्बोधन गर्दै रोड्रिगेजले अमेरिकी हस्तक्षेपलाई ‘जनताको चाहना मोड्न खोज्ने बरबर कदम’ भन्दै आलोचना गरेकी छन्। उनले भनिन्, ‘आज भेनेजुएलासँग जे भइरहेको छ, त्यस्तै कुनै पनि स्वतन्त्र राष्ट्रसँग हुन सक्छ। तर हामी धैर्यवान छौँ र शान्ति तथा स्थिरतापूर्वक हाम्रो बाटो पत्ता लगाउनेछौँ।’ उपराष्ट्रपति रोड्रिगेजको यो सम्बोधन अमेरिकी आक्रमणपछि आएको हो ।

मादुरोलाई अब अर्को हप्ता म्यानहट्टनको अदालतमा उपस्थित गराउने र लागुऔषध र हतियार तस्करीसँग सम्बन्धित गम्भीर आपराधिक मुद्दा लगाइने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अमेरिकाले शनिबार बिहानै भनेजुएलामा भीषण हवाई हमला गरेको थियो। त्यस क्रममा मादुरो र उनकी श्रीमतीलाई उनीहरूको शयनकक्षबाटै तानेर लगिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति मादुरोसहित उनकी श्रीमती अहिले अमेरिकी सेनाको हिरासतमा रहेको र भेनेजुएलाबाट बाहिर लगिएको उल्लेख गरेका थिए । अमेरिकी नियन्त्रणमा परेका भेनेजुएलाका नेता मादुरो सन् २०१३ देखि भेनेजुएलाका राष्ट्रपति हुन्। श्रमिक वर्गीय परिवारमा जन्मिएका मादुरोले राजनीतिक यात्राअघि बस चालकको रूपमा काम गरेका थिए। सन् २०२४ मा भएको मादुरोको पुनःनिर्वाचनलाई विपक्षी दलहरू र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अस्वीकार गरेका थिए।