search logo
NOTIFICATIONS

विराटनगरमा माघ १ देखि ‘विराट सडक महोत्सव’, परिकार र संगीतको महाकुम्भ लाग्ने

हाम्रो पेज

४ पुष २०८२, शुक्रबार १२:४१

विराटनगर,४ पुष । ऐतिहासिक नगरी विराटनगरको मुटु मानिने हिमालय रोडमा आगामी माघ १ गतेदेखि पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव’ आयोजना हुने भएको छ। विराटनगर महानगरपालिकाको मुख्य प्रबर्द्धनमा विगत चार वर्षदेखि निरन्तर हुँदै आएको यस महोत्सवले यस वर्ष पनि माघे सङ्क्रान्ति तथा सोनाम ल्होसारको अवसर पारेर उत्सवको रूप लिने भएको हो। मन्जिना मुभिज क्रिएसनको आयोजनामा हुने यो महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सव आयोजक मन्जिना मुभिजका निर्देशक जतिन ताम्राकारका अनुसार, विराटनगरलाई मनोरञ्जन र पर्यटनको हब बनाउने उद्देश्यका साथ यस वर्षको तयारीलाई तीव्र पारिएको छ।
पच्चीस स्टलमा  परिकारको स्वाद
महोत्सवको मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका परम्परागत खानाका परिकारहरू रहनेछन्। महोत्सवमा नेवारी, थारु, राजवंशी, लिम्बूलगायतका विभिन्न आदिवासी जनजातिका रैथाने स्वादसँगै विराटनगरका स्टार होटलहरूमा पाइने विशिष्ट परिकारहरू समेत समावेश गरी कुल २५ वटा फुड स्टलहरू रहने आयोजकले जनाएको छ। आगन्तुकहरूले एउटै थलोमा विभिन्न समुदायको स्वाद र संस्कृतिको अनुभव गर्न पाउनेछन्। खानाका परिकारसँगै महोत्सवलाई थप उल्लासमय बनाउन हरेक दिन साँझ सांगीतिक कार्यक्रम आयोजना गरिनेछ। जसमा मुलुकका चर्चित राष्ट्रिय कलाकारहरूका साथै स्थानीय प्रतिभाहरूको बेजोड प्रस्तुति रहनेछ। आफ्नो कला, संस्कृति र परम्परालाई जीवन्त राख्दै सबै वर्ग र समुदायका व्यक्तिहरूलाई भावनात्मक रूपमा जोड्ने लक्ष्य महोत्सवले लिएको छ। विभिन्न समुदायका मानिसहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको यस महोत्सवमा सहभागी हुन चाहने दर्शकहरूका लागि प्रवेश निःशुल्क गरिएको छ। विराटनगरको पर्यटन प्रबर्द्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन यो महोत्सव कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ। आफ्नो मौलिक संस्कृति र स्वादको आनन्द लिन तथा सांगीतिक मनोरञ्जनका लागि सम्पूर्ण महानगरवासी तथा छिमेकी क्षेत्रका बासिन्दाहरूलाई आयोजकले निमन्त्रणा समेत गरेको छ।