
काठमाडौं,३ पुष । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनको मतपरिणामअनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५ सय ६४ मत मात्र प्राप्त गर्नुभयो । कुल २ हजार २ सय २७ मत खसेको निर्वाचनमा ओलीले भारी मतान्तरले विजय हासिल गर्नुभएको हो । यो विजयसँगै ओलीले पार्टी नेतृत्वमा ‘ह्याट्रिक’ पूरा गर्नुभएको छ । यसअघि २०७१ मा नवौँ महाधिवेशनबाट पहिलो पटक र २०७८ मा दसौँ महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष निर्वाचित हुनुभएका ओलीले यसपटक पनि स्पष्ट बहुमत प्राप्त गर्नुभयो । ओलीको प्यानलबाट महासचिवमा शंकर पोखरेल निर्वाचित हुनुभयो । उपाध्यक्षहरूमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल र रामबहादुर थापा विजयी हुनुभयो भने गोकर्ण विष्ट र रघुजी पन्त पनि उपाध्यक्षमा निर्वाचित हुनुभयो । पदाधिकारीका अधिकांश पदमा ओली पक्षकै उम्मेदवारहरूले जित हासिल गरेको छ । निर्वाचित भएलगत्तै ओलीले महाधिवेशन स्थलमै नेता–कार्यकर्तासँग खुशी साटासाट गरेका थिए । पार्टीभित्र एकता कायम गर्दै देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउने संकल्प व्यक्त गर्दै ओलीले आफ्नो नेतृत्वलाई महाधिवेशन प्रतिनिधिहरूले बलियो समर्थन गरेको बताउनु भयो ।
यस्तो छ पदाधिकारी टिम
अध्यक्ष (१)
केपी शर्मा ओली ः १६६३
उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ ः १७३७
विष्णुप्रसाद पौडेल ः १६७५
रामबहादुर थापा बादल ः १५१६
गोकर्णराज विष्ट ः १३६८
रघुजी पन्त ः १२५८
महासचिव (१)
शंकर पोख्रेल ः १२२८
उपमहासचिव (३)
लेखराज भट्ट ः १४५२
योगेश भट्टराई ः १३४८
रघुवीर महासेठ ः १३६८
सचिव (९)
महेश बस्नेत ः १५४४
पद्माकुमारी अर्याल ः १५३०
छविलाल विश्वकर्मा ः १५०६
शेरधन राई ः १५०३
हिक्मतकुमार कार्की ः १३३७
खगराज अधिकारी ः १२३१
यामलाल कंडेल ः ११८५
राजन भट्टराई ः ११८१
भानुभक्त ढकाल ः ११०८
