
काठमाडौं, १७ मंसिर । काठमाडौंमा एक कार्यक्रम गरी उज्यालो नेपाल पार्टीको घोषणा गरियो । ऊर्जामन्त्री कुलमान घिसिङ मुख्य आकर्षण रहेको घोषणासभामा सो पार्टीले आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेको छ । सुशासन, समृद्धि र सामाजिक न्यायु शीर्षकमा सार्वजनिक गरिएको घोषणापत्रले सो पार्टीको राजनीतिक आदर्श, विचार र मूल्य मान्यताबारे पनि प्रस्ट्याएको छ । नयाँ युगको प्रारम्भ गर्ने संकल्प र योजनासहित उज्यालो नेपाल पार्टी जन्मिएको दाबी घोषणापत्रमा गरिएको छ । अनि दलको पहिचान अनुरुप व्यवहार प्रदर्शन गरी परिणाममुखी राजनीतिक अभ्यास गर्ने उल्लेख गरिएको छ । पार्टीको मूल राजनीतिक आदर्शबारे प्रस्ट्याउँदै घोषणापत्रमा भनिएको छ, नेपालको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र नागरिक सर्वोच्चता उज्यालो नेपाल पार्टीको मूल राजनीतिक आदर्श हो । त्यस्तै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानयुक्त राष्ट्र भएकाले नेपाली समाजको बहुलपनालाई संरक्षण र संबर्द्धन गर्दै सामाजिक न्यायमा आधारित सहभागितामूलक समावेशी र लोककल्याणकारी राज्य प्रणालीमार्फत जनताको सामूहिक हितको रक्षा गर्नुपर्दछ भन्ने विश्वास राख्ने पनि जनाइएको छ । त्यस्तो सो पार्टीको घोषणापत्रमा नागरिक स्वतन्त्रता, विधिको शासन, आवधित निर्वाचन, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका, मानवअधिकार र प्रेस स्वतन्त्रताजस्ता विश्वव्यापि मान्यतालाई स्वीकार गर्ने र पारदर्शिता एवं जवाफदेहीताका आधारमा प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरा पनि उल्लेख छ । घोषणापत्रमा नेपालको संविधानको मूलभूत व्यवस्थालाई आत्मसात गर्दै लोककल्याणकारी राज्य र उदारवादी अर्थ व्यवस्थाको अभ्यास गर्नु पार्टीको मूलभूत राजनीतिक र आर्थिक मार्गदर्शक रहने भनिएको छ । त्यस्तै राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्दै सुशासन र सामाजिक न्यायको आधारमा प्रत्येक नागरिकको जीवनलाई समृद्ध बनाउनु पार्टीको प्राथमिक लक्ष्य हुने बताइएको छ । उज्यालो नेपाल पार्टीले राज्य, निजी क्षेत्र, सहकारी र समुदायबीच गतिशील र सन्तुलित साझेदारीमा आधारित समाजवादमुखी आर्थिक प्रणालीको अभ्यास गर्ने भनेको छ । र, स्वदेशी पुँजीको अधिकतम प्रयोग गर्दै आवश्यकताका क्षेत्रमा विदेशी लगानीलाई पनि आकर्षित गर्ने जनाएको छ । नेपालको भौगोलिक अखण्डता, राजनीतिक स्वामित्व र सामारिक स्वायत्तता सुरक्षित राख्दै राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीतीको तर्जुमा र सञ्जालन गरिनेछ, घोषणापत्रमा भनिएको छ ।


यस्तै उज्यालो नेपाल पार्टीले संविधानलाई गतिशील दस्ताबेजको रूपमा स्वीकार गरेको छ। आज घोषणापत्र सार्वजनिक गर्दै नेपालको उज्यालो भविष्यको लागि वर्तमान संविधानका केही व्यवस्थाहरू संशोधन गरिनुपर्ने जनाएको छ। हालको व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार, नेपालमा संघीयताको अभ्यासलाई कायम राख्दै व्यवहारिक, परिणाममुखी र प्रभावकारी बनाउनुपर्ने प्रस्ताव गरेको छ। देशको जनसंख्या, भूगोल, पहिचान, सामर्थ्य र आर्थिक सम्भावना समेतलाई मध्यनजर गर्दै प्रदेश र स्थानीय तहको संरचना र संख्या पुनरावलोकन, वृहत् राष्ट्रिय सहमतिको आधारमा संघीयतासँग जोडिएका विषयलाई सम्बोधन, शासकीय सुधारका सन्दर्भमा विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त भएका सुझावका आधारमा मन्त्रालयको संख्या पुनरावलोकन गरिनुपर्ने उल्लेख छ। घोषणापत्रमा भनिएको छ, ‘सांसद सदस्य नभएका विज्ञहरूलाई मन्त्री बनाउन सकिने व्यवस्था गरिनुपर्छ । तर परराष्ट्रमन्त्री, गृहमन्त्री, कानूनमन्त्री र रक्षा मन्त्री संघीय संसदको सदस्यबाटै चयन गरिनुपर्छ ।’ प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिनुपर्ने पक्षमा उभिएको छ। घोषणा पत्रमा भनिएको छ, ‘प्रदेशमा सांसद रहने व्यवस्था हटाई प्रदेशसभाको काम गर्ने गरी स्थानीय तहको प्रमुख र उपप्रमुखको प्रतिनिधित्व हुने प्रदेश परिषद् बनाइनुपर्दछ । प्रदेश परिषद्ले ऐन पारित गर्ने व्यवस्था गरिनुपर्छ । प्रधानमन्त्री निर्वाचित भइसकेपछि जुनसुकै अवस्थामा पनि संसदको आधा कार्यकाल सरकार सञ्चालन गर्ने सुनिश्चितता गरिनुपर्दछ ।’ एकै संसदीय निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक उम्मेदवार हुन नपाइने व्यवस्था गरिनुपर्ने प्रस्ताव छ। घोषणा पत्रमा भनिएको छ, ‘समानुपातिक सांसद र मनोनीत सांसद १ पटकको लागि मात्र हुने व्यवस्था गरिनुपर्दछ । स्थानीय तहको चुनाव गैरदलीय आधारमा हुनुपर्छ ।’ न्यायपालिकामा दलीय हस्तक्षेप नहुने गरी न्यायपरिषद्को पुनः संरचना गरिनुपर्ने प्रस्ताव छ।
