हेलिप्याड बनाउदा १३ करोड भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा

हाम्रो पेज

१७ मंसिर २०८२, बुधबार १८:२७

काठमाडौं, १७ मंसिर । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो । प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी कायम गरिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुभयो । उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ । मुद्दा दायर गर्नुअघि अधिकारी र भण्डारीलाई पक्राउ गरिएको थियो । उनीहरूलाई पनि विशेष अदालतमा उपस्थित गराइएको छ । १२ करोड खर्चेर बनाइएको भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा उडान जोखिम कारण देखाउँदै पाइलटहरूले केही दिनमै हेलिकप्टर उडाउन मानेका थिएनन् । ३३ रोपनी क्षेत्रफलमा बनाइएको हेलिपोर्टमा विद्युत तार, रुख र वरिपरिका घरले अवतरण र उडान दुवैमा जोखिम रहेको भन्दै उनीहरूले ज्ञापन पत्र बुझाएका थिए ।प्राधिकरणका अधिकारीहरूले नलिन्चोकमा नयाँ हेलिपोर्ट निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन नै नगरी, प्रक्रिया मिचेर गुरुयोजना तयार पारेको अख्तियारको जिकिर छ ।  तत्कालीन महानिर्देशकले ‘सम्भाव्य देखिएमा मात्र प्रक्रिया अगाडि बढाउने’ भने पनि सोको बेवास्ता गरी बदनियतपूर्वक काम अघि बढाइएको अख्तियारको भनाइ छ ।  यसैगरी हेलिपोर्टजस्तो संवेदनशील संरचनाको डिजाइन र सुपरिवेक्षणका लागि अन्तर्राष्ट्रिय स्तरको अनुभव भएको परामर्शदाता आवश्यक पर्नेमा, अनुभव नै नभएको ‘अभियन्त्र कन्सल्टिङ प्रालि’लाई मिलेमतोमा छनोट गरिएको अख्तियारको अनुसन्धानको निष्कर्ष छ । सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा सीमित गरी परामर्शदाता नियुक्त गरिएको पनि अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । यसैगरी खरिद गुरुयोजना र वार्षिक खरिद योजना स्वीकृत नै नगरी हचुवाको भरमा लागत अनुमान तयार पारी स्वीकृत गराएको, वातावरण प्रभाव मूल्याङ्कन नगरी र नेपाल सरकारको पूर्व स्वीकृति समेत नलिई निर्माण कार्य अघि बढाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।