नेपाली कम्युनिस्ट पार्टीको ‘एकता सन्देश सभा’ विराटनगरमा,एमाले नेता रुपेश खतिवडा पार्टी प्रवेश

हाम्रो पेज

१५ मंसिर २०८२, सोमबार १५:०४

विराटनगर,  १५ मंसिर । विभिन्न १५ राजनीतिक दल तथा समूह मिलेर हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टी नेकपाको कोशी प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ विराटनगरमा सुरु भएको छ। विराटनगरको पुरानो गुद्रीस्थित मैदानमा आयोजना गरिएको सभामा झापा, मोरङ, सुनसरी र उदयपुरलगायत कोशी प्रदेशका जिल्लाबाट कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ। सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावल, नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ‘एकता सन्देश सभा’मा नेकपा एमाले मोरङ जिल्ला कमिटी पूर्व सचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गर्नुभयो । खतिवडाको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको सदस्यता प्राप्तिसँगै सुरु भएको थियो। मो विभिन्न आन्दोलनका क्रममा पटक–पटक पक्राउ पर्नुभएका खतिवडालाई जनआन्दोलनका क्रममा ६८ दिनसम्म थुनामा राखिएको थियो। सभामा सम्बोधन गर्दै खतिवडाले एमाले पार्टी अब विधि र पद्धतिमा नभई नितान्त ‘व्यक्तिवादी’ भएको आरोप लगाउनुभयो । उहाँले एमालेभित्र इमानदार र वैचारिक नेता–कार्यकर्तालाई टिक्न नसक्ने अवस्था सिर्जना गरिएको दाबी गर्नुभयो । ‘एमालेभित्र अब विचार र सिद्धान्तको कुरा गर्ने ठाउँ छैन। त्यहाँ कि त नेतृत्वको दास बनेर बस्नुपर्छ, नत्र पार्टी छोडेर जान बाध्य बनाइन्छ,’ खतिवडाले भने, ‘अहिले पनि एमालेभित्र धेरै मानिसहरू उकुसमुकुस भएर बसिरहेका छन्। त्यस्तो निसासिँदो वातावरणमा बस्नु उचित नदेखेर मैले विद्रोह गरेको हुँ।’