
काठमाडौं, १५ मंसिर । फागुन २१ को प्रतिनिधिसभा चुनावमा भाग लिन १२० राजनीतिक दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ को निर्वाचनमा भाग लिनका लागि यही मंसिर १ गतेदेखि १४ गतेसम्म ती दलले दर्ताको निवेदन पेश गरेका हुन् । आयोगमा दर्ता भएका १४३ वटा दलमध्ये २३ वटाले भने निवेदन दिएनन् । जेन जी आन्दोलनपछि २५ वटा नयाँ दल दर्ता भएकोमा २० हाराहारीले निवेदन दिएका छन् । ११ वटा जति नयाँ दल दर्ताको प्रक्रियामा रहे पनि आवश्यक कागजात पुर्याउन नसकेकाले उनीहरू चुनावमा भाग लिनबाट वञ्चित हुने छन् । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका १४ वटै दलले दल दर्ताको लागि निवेदन दिएका छन् । नयाँ र पुरानासँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १४३ पुगेको छ । आयोगमा दर्ता भएका दलहरूले पनि प्रतिनिधिसभा निर्वाचनमा भाग लिन छुट्टै दल दर्ता गर्नुपर्ने प्रावधान छ । पुराना २४ दलले भने आगामी निर्वाचन प्रयोजनको लागि आयोगमा निवेदन दिएका छैनन् । नयाँ दलहरुमा भने धरानका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति’ नामको पार्टी आयोगमा दर्ता गरेका छन् । त्यसैगरि व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितले ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गरेका छन् भने रेशम चौधरीको अगुवाइमा ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ आयोगमा दर्ता भएको छ । त्यसैगरि ऊर्जामन्त्री रहेका कुलमान घिसिङको संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ पनि निर्वाचन आयोगमा दर्ता भएको छ । यो पार्टीको अध्यक्ष भने अरुणकुमार उपाध्याय छन् । यस्तै अध्यक्ष राजेश पोर्तेको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’ , रियाज अहमद शेषले आयोगमा ‘राष्ट्रिय जनमत पार्टी’ दर्ता गराएका छन् । त्यसैगरि अधिवक्ता रमणकुमार कर्णको संयोजकत्वमा ‘जनादेश पार्टी, नेपाल’ आयोगमा दर्ता भएको छ भने दलित अभियन्ता खगेन्द्र सुनारले ‘हाम्रो पार्टी नेपाल’ दर्ता गराएका छन् । उनको पार्टी भने दर्ता प्रक्रियामै रहेको आयोगले जनाएको छ । त्यसैगरि पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालको अगुवाइमा ‘समुन्नत नेपाल पार्टी’ दर्ता भएको छ । यस्तै गणेशकुमार मण्डलको अगुवाइमा ‘सार्वभौम नागरिक पार्टी’ र योगेन्द्र मण्डलको अगुवाइमा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ पनि आयोगमा दर्ता भएको छ । श्रेया केसीको अध्यक्षतामा ‘नागरिक सेवा पार्टी’ दर्ता भएको छ भने नुमा लिम्बूले ‘समावेशी समाजवादी पार्टी’ दर्ता गराएकी छन् । त्यसैगरि दुर्गा प्रसाईंको अगुवाइमा ‘नागरिक बचाउ दल’ पनि आयोगमा दर्ता भएको छ । यो पार्टीको अध्यक्षमा माधवप्रसाद खतिवडा छन् । त्यसैगरि दीपककुमार साहको अगुवाइमा ‘सर्वोदय पार्टी’ दर्ता भएको छ भने प्रकाश खड्काको नेतृत्वमा ‘नेपाल जनसेवा पार्टी’ पनि आयोगमा दर्ता भएको छ ।
