धनकुटाको शहिदभूमीमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

हाम्रो पेज

१० मंसिर २०८२, बुधबार ०७:२७
धनकुटा, ९ मंसिर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहमा बीमाको पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीलगायतका बिषयमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रम मा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन राईले बीमाको विभिन्न विषयमा जानकारीमूलक प्रस्तुति दिनुभयो । अन्तरक्रियामा सहभागीहरूले सरकारी भवनको बीमाको आधार र दर, अभिकर्तामार्फत हुने सम्भावित ठगी, पशु बीमामा औषधि वितरणका प्रदेशगत फरक व्यवस्था तथा तेस्रो पक्ष मोटर बीमाको दाबी भुक्तानीलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि शहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले कृषक तथा सर्वसाधारणसम्म बीमा सम्बन्धी जानकारी पुग्नुपर्ने आवश्यकता औंल्याउँदै बाली, पशु र भवनसमेत सबै संरचनाको बीमा सम्भव रहने जानकारी व्यापक रूपमा फैलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बीमा सुरक्षणको माध्यम भएकाले यसप्रकारका कार्यक्रम उपयोगी रहेको बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष रत्नश्वरीं राईले बीमासम्बन्धी सचेतनामूलक कार्यक्रमले समुदायमा ठूलो प्रभाव पर्ने उल्लेख गर्दै मानिस मात्र नभई पशु, बाली र भौतिक संरचनाको बीमा गर्न सुझाव दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीले बीमा प्रक्रिया तथा पहुँचबारे छोटो समयमा व्यापक जानकारी पाएको बताउँदै यसलाई स्थानीय तहमा पुनः प्रसारण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवले सबै बीमा सेवा लाइसेन्स प्राप्त कम्पनी र अधिकृत व्यक्तिमार्फत मात्र ग्रहण गर्नुपर्नेमा जोड दिँदै दाबीका बेलामा घटनाको यथार्थ विवरण दिन आग्रह गर्नुभयो । कार्यक्रममा शहिदभूमी गाउँपालिकाका कर्मचारी, बीमक, बीमा अभिकर्ता, स्थानीय सर्वसाधारणको सहभागीता रहेको थियो ।