
विराटनगर, ९ मंसिर । विराटनगर महानगरपालिका वडा नं ७ स्थित सरस्वती प्लाष्टिक उद्योगको पछाडिको भागमा आज बिहान भीषण आगलागी भएको छ । उद्योग नजिकै थुपारिएको प्लाष्टिकको डंगुरमाथि एक्कासी आगलागी शुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्लाष्टिको फोहोर जलाउन आगो लगाउने क्रममा सल्किएको हुनसक्ने अनुमान गरिएकोछ । यो ठाउँ जलजला मोडबाट पूर्वतर्फ श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको भागमा अवस्थित छ । आगलागी नियन्त्रण गर्न विराटनगर महानगरपालिकाको दमकल, नेपाल प्रहरी र महानगर प्रहरीको टोली खटिएको छ । नजिकैका भवनमा समेत आगलागी हुनसक्ने जोखिम देखिएपछि महानगरका दुईवटा दमकल आगलागी नियन्त्रणमा खटिएका छन् । आगलागीको क्षतिको आँकलन गर्न बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
