हाम्रो पेज
काठमाडौं, ७ मंसिर । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं लाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको छ । आदेशमा भनिएको छ, ‘२०८२।५।६ मा निवेदक संलग्न महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमति समेत भैसकेको भनी विद्वान कानुन व्यवसायीहरूले इजलासलाई अवगत गराउनु भएको परिवर्तित सन्दर्भमा निवेदक विरुद्धको दाबीको कसुरमा अनुसन्धान तहकिकात गर्नुपर्ने वा सो प्रयोजनका लागि निजलाई हिरासतमा राख्नुपर्ने औचित्य समेत समाप्त भैसकेको देखिन आएकोले यी निवेदक विरुद्ध जारी पक्राउपूर्जी तथा म्याद थप लगायतका अनुसन्धान सम्बन्धी सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर भई निवेदक दुर्गा प्रसाद प्रसाईंलाई गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्नु भनी विपक्षीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’ प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले २ मंसिरको मध्यराति उनकै निवासबाट पक्राउ गरेको थियो । मंसिर ३ गते दर्ता भएको निवेदनमा ४ गते बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र उपस्थित गराउन आदेश गरेको थियो। आदेशअनुसार नै प्रहरीले आइतबार प्रसाईंलाई अदालतमा उपस्थित गराएको थियो। प्रसाईंले आइतबारदेखि अनिश्चितकालीन आम हड्ताल र आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। आम हड्ताल विफल बनाउन प्रहरीले प्रसाईंलाई पक्राउ गरेर हिरासतमा राखेको आरोप लागेको थियो । तर, प्रसाईंको नागरिक बचाउ महाअभियानले आन्दोलनको तयारी अगाडि बढाएपछि सरकारले शनिबार राति वार्ता गरेको थियो। वार्ताको क्रममा प्रसाईं समूह र सरकारबीच आन्दोलनका कार्यक्रम स्थगित गरेर थप छलफल गर्ने गरी १० बुँदे सहमति भएको थियो। प्रसाईंले भने आफूहरुको आन्दोलन विर्सजन नगरिएको भन्दै आन्दोलनको मोडलमात्रै परिवर्तन गरेको टिप्पणी गर्नुभएको छ ।