
काठमाडौं, ३ मंसिर । सरकारले नर्वे सरकारबाट प्राप्त हुने करिव ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २ दशमलव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गर्नुभएको छ । निर्णयअनुसार सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पना कुमारी श्रेष्ठलाई तोकिएको छ । यस्तै नयाँ व्यवस्था नहुँदासम्म नेपाल एयरलाइन्सको कार्यकारी सञ्चालकमा अमृतमान श्रेष्ठलाई नियुक्त गर्ने, नेपाली सेनाका दुई तथा महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने, सशस्त्र प्रहरी नियमावली स्वीकृति गर्ने, राष्ट्रपतिसमक्ष अध्यादेश स्वीकृति गर्ने निर्णय भएको खरेलले बताउनुभयो । मन्त्रिपरिषद्ले विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गरेको छ । त्यस्तै, मंसिर ८ गते भारतको नयाँदिल्लीस्थीत राष्ट्रपति भवनमा भारतका नवनियुक्त प्रधानन्यायाधीशको शपथ र मंसिर १० गते नया दिल्लीमा नै आयोजना हुने संविधान दिवसको कार्यक्रममा सहभागी हुन कानुनमन्त्री अनिलकुमार सिन्हालाई स्वीकृत प्रदान गरिएको प्रवक्ता खरेलले बताए । बैठकले सशस्त्र प्रहरी चौथो संशोधन नियमावली स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारीसाधनको हकमा तीन वर्षसम्मको लागि इन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने निर्णय समेत गरेको छ ।


