महेश बस्नेतलाई रोक्न जेनजीले प्रर्दशन गरेपछि बेलुका ८ बजेसम्म सिमरामा कर्फ्यू

हाम्रो पेज

३ मंसिर २०८२, बुधबार १२:४८

बारा, ३ मंसिर ।  एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेत आउने सूचनापछि युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका छन् । स्थिति तनावग्रस्त बनेपछि बारा प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा प्रदर्शन र झडपका कारण सरकारी सम्पत्ति, पदाधिकारी, पदाधिकारी, सरकारी कार्यालय तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन गण्डक नहरदेखि पथलैया सडकको दायाँबायाँ ५ सय मिटर र विमानस्थल वरपर ५ सय मिटरसम्म कर्फ्यू कायम गरिएको उल्लेख छ । पोखरेल र बस्नेत आउने सूचनापछि युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका छन् । एमालेको मधेस प्रदेशस्तरीय युवा भेलाका निम्ति पोखरेल, युवा इञ्चार्ज बस्नेतसहितका नेता आउने भएपछि जेन–जी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेको छ । काठमाडौंबाट बुद्ध एयरको १०ः३५ को उडानबाट उनीहरू सिमरा आउने खबर पाएपछि जेन–जी समूह प्रदर्शनमा उत्रिएको हो । बाराको परवानीपुरमा प्रदेशस्तरीय भेलाका निम्ति मधेसका सबै जिल्लाबाट युवा जम्मा भइसकेका छन् । पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने उक्त भेलामा पोखरेलसहितका नेतालाई सहभागी हुनै नदिने भन्दै जेन–जी समूहले प्रदर्शन गरेको हो । काठमाडौंबाट निर्धारित समयमै उडानका निम्ति धावनमार्गतर्फ अगाडि बढेको बुद्ध एयरको जहाज पार्किङतिरै फर्किएको छ । सबै यात्रुलाई जहाजबाट उतारेर अर्को सूचना नभएसम्म उडान हुने बुद्ध एयरले जनाएको छ । प्रदर्शनकारीहरु धावनमार्गमै पुगेपछि असुरक्षाका कारण काठमाडौंबाटै विमान उड्न नसकेको हो । पोखरेल र नेताबस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउने कार्यक्रम सार्वजनिक भएपछि सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गर्दै विरोध प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको छ। सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । एमाले कार्यकर्ता समेत प्रर्दशनमा उत्रिएपछि दुई पक्षबिच झडप भएको हो । विमानस्थल क्षेत्रको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठूलो फौज परिचालित गरिएको छ। बस्नेतलाई लिन पूर्वमन्त्री किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली लगायत एमाले नेताहरू विमानस्थलमा पुगेका छन् । उनीहरुलाई पनि प्रहरीले सुरक्षा घेराभित्र राखेको छ। बस्नेतको कार्यक्रमको जानकारी सार्वजनिक भएपछि जेनजी युवाहरूले मंगलबारदेखि सामाजिक सञ्जालमार्फत विरोध अभियान घोषणा गरेका थिए।