उपचारका लागि हिड्नु भएकी प्रदेश प्रमुखले बाटोमै मुख्यमन्त्री नियुक्त गरेपछि

हाम्रो पेज

२४ कार्तिक २०८२, सोमबार ११:५२

जनकपुर, २४ कार्तिक । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले सांसद सरोजकुमार यादव नियुक्त हुनु भएको छ । सोमवार बिहानै बिहान चार बजे कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनललाई आफू विरामी परेको र श्वास र्फेन गा¥हो भइरहेको भन्दै काठमाडौंको लागि हिँड्नुभएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सीमाना जंगलमा रहेको पानस कटेजमा एमाले दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्री चयन गर्नुभएको हो । प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको बताइएको छ । एमाले बाहेकका सात दलले शनिवार मुख्यमन्त्री जितेन्द्र सोनलको राजिनामा पछि धारा १ सय ६८ को २ अनुसार नै नयाँ सरकार बन्नुपर्ने भन्दै माग र प्रदर्शन गरिरहेका थिए । सोनलले विश्वासको मत सामना गर्नुपूर्व नै राजिनामा दिएकाले १ सय ६८ को ३ सक्रिय नहुने अन्य दलहरुको दाबी थियो । एमालेको यस नयाँ गेममा रिजवान अन्सारीको नेपाल समाजवाद पार्टी र राप्रपाको पनि साथ छ । समाजवादी पार्टीबाट विमला अन्सारी, राप्रपाबाट कञ्चन विच्छा र एमालेबाट लखन दास विना विभागीय मन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख भण्डारी एमाले कोटाबाट प्रदेश प्रमुख बन्नुभएको हो । बिहान चार बजे कामचलाउ मुख्यमन्त्री सोनललाई बोलाएर आफू दमको विरामी रहेको र श्वासप्रश्वासमा कठिनाइ भइरहेको बताउँदै प्रदेश प्रमुख बाहिरिनुभएको थियो ।

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका छन् । त्यस्तै दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पनि तालाबान्दी गरेका छन् । उनीहरुले प्रदेशका अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी गरिरहेका छन् । एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्काले कुर्सी फालेका हुन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् । तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ । मधेशको प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमेत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । उनीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरूमा क्षति पुर्‍याएका छन् ।