
चितवन २१, कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शुरु भएको छ । बैठक शुक्रवार बिहान चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको हो । बैठकमा पाँच सय भन्दा बढी प्रतिनिधिहरुले सहभागिता जनाउने रास्वपाले जनाएको छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेश गर्नुहुनेछ । साथै प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ । ैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी हुनेछन्। प्रदेश सभापतिहरूले आफ्नो प्रदेशभित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे धारणा राख्नेछन्। पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव दिनेछन् र ती सुझावलाई समेटेर आवश्यक परिमार्जन गरिने रास्वपा नेताहरुले बताएका छन् । बैठकमा आगामी फागुनमा तोकिएको महाधिवेशनका बारेमा पनि छलफल गरिनेछ। फागुनमा निर्वाचन गर्ने सरकारको तयारीसँगै महाधिवेशनको मिति के गर्ने भन्ने बारेमा पनि निर्णय लिइने नेताहरूले जनाएका छन्। विस्तारित बैठकमा पार्टी संरचनाको पुनर्गठन, विगतमा अंगीकार गरिएका विधि, रणनीति, सांगठनिक कमजोरी र भावी रणनीति लगायतका विषयमा सघन बहस हुनेछ। वैकल्पिक राजनीतिक शक्ति निर्माणका बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ।
