NOTIFICATIONS
हाम्रो पेज
काठमाडौं, १८ कार्तिक । हिंसा भड्काउने अभिव्यक्ति दिएका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।उहाँलाई मंगलबार गोरखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताउनुभयो । भुसाललाई गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भुसाललाई गोरखाबाट काठमाडौँ ल्याउँदै छ । भुसालले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । सामाजिक सञ्जालमा त्यस्तो अभिव्यक्ति दिएपछि तरुण दलका एक जना कार्यकर्ताले भुसालको समूहलाई प्रतिकारको चेतावनी दिएका थिए । मुठभेट हुन नदिनको लागी भुसाललाई नियन्त्रणमा लिइएको प्रहरी अधिकृतहरू बताउँछन् । यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उहाँलाई सुधार केन्द्रमा लैजाने सर्तमा दाजुले जिम्मा लिएका थिए । त्यसपछि पनि उहाँको विवादित अभिव्यक्ति रोकिएको छैन । जेनजी प्रदर्शनमा ओली, लेखक र प्रजिअले सर्वसाधारणको ‘हत्या’ गरेको अभिव्यक्ति दिँदै भुसालले उनीहरूको घर घेरेर कारबाही गर्ने अभिव्यक्ति दिनु भएको छ । यस्तै सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही नगरेको भन्दै भुसाल हालका प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालविरुद्ध पनि खनिनुभएको थियो । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ भनेर टिप्पणी गर्नुका साथै आफूमाथि कारबाही गर्न सरकारलाई चुनौतिसमेत दिनुभएको थियो । अपशब्द प्रयोग गर्दै उहाँले गृहमन्त्री ओमप्रकाश अर्याललाई अपशब्दसहित भन्नुभएको थियो ‘हे गृहमन्त्री तैले कारबाही गर्न सक्छस् भने गर् मेरै गाउँको होस् तँ पनि । खास त रेस्पेक्ट गरेर भेना भन्नुपर्ने हो त्यही पनि तँ भन्न बाध्य छु ।’