आजदेखि बुधबारसम्म वर्षा र हिमपात, कहाँको मौसम कस्तो छ ?

हाम्रो पेज

१० कार्तिक २०८२, सोमबार १५:१०

काठमाठमाडौं, १० कार्तिक । देशका केही स्थानमा आज रातिदेखि बुधबार कात्तिक १२ गते बिहानसम्म वर्षा र हिमपातको पूर्वानुमान छ । यो अवधिमा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार मध्याह्न पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै गण्डकीका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको जनाएको छ । हाल देशमा पश्चिमी वायुका साथै अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ । “यस प्रणालीले मिति २०८२–०७–१० गते रातिदेखि मिति २०८२–०७–१२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ, “साथै, गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।” आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ । “सम्भावित हिमपातरवर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” महाशाखाले भनेको छ ।देशका केही स्थानमा यो साता भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । वर्षा हुन भोलि कात्तिक ११देखि नै सुरु हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा विनोद पोखरेलले उल्लेख गर्नुभएको छ । आउँदो बिहीबारदेखि शनिबारसम्म देशको पूर्वी भूभागमा भारी वर्षा हुने सम्भावना उहाँले औँल्याउनु भएको छ । बंगालको खाडीमा रहेको मोन्था चक्रवात र अरबसागरको न्यूनचापीय प्रणालीले यति बेला नेपालभरि बादल ल्याइरहेको उहाँले जानकारी दिनुभएको छ । जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि आउँदो शुक्रबार र शनिबार वाग्मती, मधेस र कोसी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्नुभएको छ । सुझावका रूपमा उहाँले फेसबुकमा लेख्नु भएको छ “ धान भित्र्याउन, पराल आदिको सुरक्षामा विशेष ध्यान दिनुपर्ने, १४–१५ कार्तिकमा काठमाडौंलगायत पूर्वी नेपालको हवाई तथा स्थलमार्ग प्रभावित हुनसक्छ ।” मौसमविद्ले पश्चिम नेपालमा भने हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाएका छन् । उच्चपहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना औँल्याइएको छ । देशको मौसमको निगरानी गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबारै विशेष बुलेटिन जारी गरेको छ । महाशाखाले पश्चिम नेपालका केही स्थानमा सोमबार रातिदेखि बुधबार बिहानसम्म वर्षा र हिमपातको पूर्वानुमान गरेको छ ।