सुशीला सरकारमा ४ मन्त्री थपिँदै

हाम्रो पेज

९ कार्तिक २०८२, आईतवार ११:५७

काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने हुनु भएको छ । आज नियुक्त गर्न लागेकी ४ नयाँ मन्त्रीहरु शपथ साढे २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुको शपथको तयारी भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सचिवालय स्रोतका अनुसार आज थपिने मन्त्रीहरुमध्ये गणपतिलाल श्रेष्ठको मन्त्रालयले फेरिएको छ । उहाँलाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने तयारी भएको थियो । उहाँलाई भूमि व्यवस्था तथा सहकारीमन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । पर्यटनमन्त्रालयको जिम्मेवारी हालसम्म कसैलाई दिइएको छैन । प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस हुनु भएको छ ।
प्रधानमन्त्री कार्कीले ४ जना मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइसक्नु भएको छ। यसअघि मन्त्रिपरिषद् विस्तारका लागि विभिन्न नाम चर्चामा आएपनि विवाद भएपछि मन्त्रिपरिषद् विस्तार हुनु सकेको थिए । अहिले सुशीला सरकार ८ सदस्यीय रहेको छ । मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री कार्कीपछिको वरीयतामा अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर प्रसाद खनाल हुनुहुन्छ । तेस्रो वरीयतामा ऊर्जा र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र चौथो वरीयतामा गृहमन्त्री ओम प्रकाश अर्याल रहनु भएको छ । यस्तै पाँचौ वरीयतामा तीन मन्त्रालयको जिम्मेवारी पाएका अनिलकुमार सिन्हा रहनु भएको छ । उहाँले उद्योग, कानुन र भूमि व्यवस्था मन्त्रालय पाउनु भएको छ भने त्यसपछिको वरीयतामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन हुनुहुन्छ । यस्तै सातौँ वरीयतामा कृषिमन्त्री मदन प्रसाद परियार हुँदा सञ्चारमन्त्री बनेका जगदीश खरेलको वरीयता पुछारमा रहेको छ ।