हाम्रो पेज
विराटनगर, ९ कात्तिक । सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ । शुक्ल पञ्चमी तिथीको दिन खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वाससमेत रहेको छ । सन्ध्याकालीन अघ्र्य दिनुभन्दा एक दिनअघि हुने खरनामा ब्रतालुहरु दिनभर ब्रत बसेर साँझको समय नुहाइधुवाइ गरी माटोको नयाँ चुल्होमा प्रसाद बनाउने गर्दछन् ।
गाइको गोबरले लिपपोत गरी कुलदेवता रहेको घरमा चामलको पिठोले अरिपन दिएर ब्रतालुहरु पूजापाठ गर्ने गर्दछन् । खरनाका दिन घरका सबै सदस्य तथा छिमेकीहरु जम्मा भई प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । खरना दिनदेखि ब्रत बसेका ब्रतालुहरुले षष्ठी तिथीमा अस्ताउँदो र सप्तमी तिथीको दिन उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिइसकेपछि छठ पर्व सम्पन्न हुन्छ । खरनालाई छठ पर्वको मुख्य विधिको रूपमा लिइन्छ ।