ओली लेखकविरुद्धको जाहेरीको काउन्टरमा बालेन सुदनविरुद्ध जाहेरी

हाम्रो पेज

२१ आश्विन २०८२, मंगलवार १८:५८

काठमाडौं२१, आश्विन । जेनजी युवा आन्दोलनको क्रममा भएको दमन र त्यसपछिको न्यायिक प्रक्रियाको मागले नेपालको राजनीतिक वृत्तमा गहिरो हलचल ल्याएको छ। यस आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित सरकारमाथि दबाब बढाएको छ। यसैबीच, यो मुद्दा थप जटिल बन्दै गएको छ, जब निवर्तमान प्रमुख सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ लगायतकाविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको छ। अखिलका महासचिव दीपक धामीको नेतृत्वमा पुगेको टोलीले राष्ट्रिय धरोहरमा आगजनी गर्ने र दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको बताउँदै तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ। धामीले अराजकता मच्चाउने काम भएको छ, धरोहर जलाउने काम भएको छ, हाम्रो देशको शान्तिको प्रतीकलाई विध्वंस गर्ने काम भएको छ भन्दै उनीहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग राख्नु भएको छ । यद्यपि उहाँले कोविरुद्ध जाहेरी भन्ने स्पष्ट नपारे पनि अखिलका एक नेताका अनुसार बालेन शाह र सुदन गुरुङ लगायतलाई कारबाही गर्नुपर्ने माग गरिएको छ। अखिलले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुदनलाई आरोपित गरेको छ। प्रहरीले २४ घण्टाभित्र जाहेरी दर्ता नगरे त्यसपछि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने र कानुनी उपचारको खोजीमा लाग्ने अखिलका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिनुभयो । प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने नगर्ने बारे २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको बडालले बताउनुभयो । उहाँले आफूहरू कानुनी राज्यको पक्षधर विद्यार्थी भएकाले विधिको शासनको वकालत गर्दै जाहेरी दिएको बताउनुभयो ।


जेनजीको जाहेरी र प्रहरीको प्रतिक्रिया
यसअघि गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको किटानी जाहेरी पनि प्रहरीले बुझेको छ। तर प्रहरीले उक्त जाहेरी जेनजी आन्दोलनबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जाहेरी बुझेर हामीले गौरीबहादुर कार्की नेतृत्वमा रहेको आयोगमा पठाइएको छ, यो हाम्रो क्षेत्रको कुरा भएन। यसबारे कार्यक्षेत्र भएको आयोगमा पठाएका छौँ भन्नुु भएको छ । जेनजी आन्दोलनकारीहरूले प्रदर्शनमा अस्वाभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेर जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ताको प्रयास गरेका थिए। प्रहरीले जाहेरी दर्ता नगरेपछि परिसरको स्थिति तनावपूर्ण बनेको थियो। अन्ततः प्रहरीले जाहेरी लिएर दर्ता नगरी त्यसलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठायो। यसकै काउन्टरमा अखिलका विद्यार्थीहरू बालेन र सुदनविरुद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगेका हुन्। भदौ २३ र २४ गते जेनजीको आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका लेखकलाई पक्राउ गर्न जेनजीहरूले सामाजिक सञ्जालमा ट्रेन्ड पनि चलाएका छन्। हामी नेपालका संयोजक सुदन गुरुङसहित जेनजीका प्रतिनिधिले यसअघि सरकारलाई ओली र लेखकलाई तत्काल पक्राउ गर्न भन्दै ध्यानाकर्षण गराएका थिए। त्यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि बालुवाटार पुगेर प्रधानमन्त्रीलाई यसबारे दबाब  दिनु भएको थियो । उता जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ। आयोगका सदस्य विज्ञानराज शर्माले एक विज्ञप्ति जारी गर्दै ुफौजदारी कसूरमा संलग्न जोकोहीलाई सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्नेु उल्लेख गरेका छन्।

यद्यपि, ५ असोजमा राजपत्रमा प्रकाशित जाँचबुझ आयोगको क्षेत्राधिकारमा भदौ २३ र २४ गते भएको भौतिक र मानवीय क्षतिको छानविन गर्नेु कार्यादेश तोकिएको छ। आयोगले घटनाको जाँचबुझ गरी राय सहितको प्रतिवेदन बुझाउनुपर्नेछ र संलग्नहरूमाथि कारबाहीको रायसमेत दिनुपर्नेछ। आयोगले काम सुरु गरेको अवस्थामा त्यही प्रकृतिको काम अघि बढाउन निवेदन ग्रहण गर्दा दोहोरोपना हुने भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको देखिन्छ। अर्कोतर्फ, पूर्वन्यायाधीशको नेतृत्वमा आयोगले जाँचबुझ अघि बढाउन जति सहज छ, त्यसको तुलनामा प्रहरीलाई राजनीतिक नेतृत्वमाथि अनुसन्धान अघि बढाउन उति नै गाह्रो पनि छ। भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शन हिंसात्मक बनेको थियो। २३ गते नै प्रहरीको गोली लागेर १९ जना युवाको मृत्यु भएको थियो। प्रदर्शनपछि घाइते भएका थप १० जनाको पनि सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको खुलेको छ। जेनजी प्रदर्शनमा गोली तथा आगजनीका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ। यसरी, जेनजी आन्दोलनले नेपाली समाजमा गहिरो प्रभाव पारेको छ र यसको न्यायिक प्रक्रिया अझै अन्योलमै देखिन्छ।