हाम्रो पेज


घाइते तथा विस्थापितको अवस्था
पाँचथरमा तीन जना घाइते भएका छन् । मिक्लाजुङ ३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की, फाल्गुनन्द५ जौवारीका ६६ वर्षीय धनबहादुर चेम्जोङ र फाल्गुनन्द(१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे। कोशी प्रदेशभरि बाढी र पहिरोका कारण २६,९८४ जना विस्थापित भएका छन् भने ५,९२५ घर प्रभावित भएका छन्। विस्थापितहरूलाई विद्यालय तथा सार्वजनिक भवनहरूमा राखिएको छ भने केही आफन्त तथा छिमेकीको शरणमा छन्। हालसम्म ५३२ जनाको सकुशल उद्धार गरिएको छ। १६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, जसमध्ये इलाममा १४ र पाँचथरमा २ घर छन्। मोरङमा २५१ परिवारका १,०२० जना प्रभावित भएका छन्, जसमध्ये १७६ परिवार विस्थापित भएका छन्। केशलीया, सिंघिया, बक्राहा र रतुवा खोलामा आएको बाढीले सुन्दरहरैँचा नगरपालिका, विराटनगरका विभिन्न वडाका घरहरू डुबानमा परेका छन्। झापामा ५,००० भन्दा बढी घर डुबानमा परेका छन् र २५,००० भन्दा बढी मानिस विस्थापित भएका छन्। झापा गाउँपालिका पूर्ण रूपमा जलमग्न भएको छ। शिवसताक्षी, गौरीगन्ज, गौरादह, अर्जुनधारा र भद्रपुर पनि प्रभावित छन्। सुनसरीमा सुनसरी खोलाको बाढीले इनरुवा नगरपालिकाका विभिन्न वडा र भोक्राहा नरसिंह गाउँपालिकाका बस्तीहरू जलमग्न भएका छन्।
सडक तथा यातायातको अवस्था
मेची राजमार्गमा इलामका विभिन्न ठाउँमा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो हटाउने कार्य भइरहेको छ। राज दुवाली, गोदक माई खोला सडक खण्ड, चुरे घाँटी, पुवाखोला लगायतका स्थानमा सडक अवरुद्ध छ। पुवा खोलाको बेली ब्रिज, माई खोलाको बेलासे पुल, जोगमाई खोलामाथिको बेली ब्रिज र देउमाई खोलाको गजुरमुखी पुलमा क्षति पुगेको छ। कोशी राजमार्गमा धरान र लेउतीमा खसेको पहिरो हटाई सुचारु गरिएको छ। पूर्व पश्चिम राजमार्गमा झापामा बाढीले ड्राइभर्सन बगाए पनि वैकल्पिक बाटोबाट सवारी साधन सञ्चालनमा ल्याइएको छ। तमोर कोरिडोर आंशिक रूपमा सञ्चालनमा आएको छ।
बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।यसैगरी, ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग, उदयपुरको कटारी नगरपालिका–१४ दलदलेमा रहेको सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका–५ ढिकुरेस्थित मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँगुरीगढी गाउँपालिका–१ स्थित कोशी लोकमार्ग, इलामको इलाम नगरपालिका–९ राजदुवालीलगायत मेची राजमार्गका विभिन्न स्थान अवरुद्ध भएका छन्। यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल चीन मितेरी पुल, सोही गाउँपालिका–५ स्याप्रुबेँसीलगायतका चार स्थानमा पूर्ण रूपमा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्ग, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोलास्थित बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षाका कारण आएको बाढीपहिरोबाट मकवानपुरको बकैया गाउँपालिका– ११ घट्टेखोलास्थित कान्ति लोकपथ, मकवानपुरकै भीमफेदी गाउँपालिका–८ स्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३ स्थित कुलेखानी दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित बिपी राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।