नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता, टेष्ट राष्ट्र वेष्ट इन्डिजविरुद्धको तीन खेलको श्रृंखला एकखेल अगावै कब्जा

हाम्रो पेज

१४ आश्विन २०८२, मंगलवार ०७:५६
विराटनगर, १४ अशोज । नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखलामा लगातार दुई जित निकाल्दै एक खेल अगावै शृंखला आफ्नो नाममा गरेको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै यो शृंखलाको उपाधि जितेको हो ।

गएरातिको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए । यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगोले १६ रन जोडे । नेपालकालागि आदिल आलमले ४ विकेट लिए । यस्तै, कुशल भुर्तेलले तीन तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एकसय ७३ रन बनाएको थियो । नेपालकालागि आसिफ सेखले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए । यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए । वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए । विपक्षी खेलाडीलाई नै चकित पार्ने नेपालको फिल्डिङ जोशले मैदानभित्रदेखि संसारभर हेरिरहेका समर्थकहरु माँझ तरंग पैदा गरेको थियो ।

शनिबार ऐतिहासिक जित हासिल गरेको नेपालले हिजोको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखलामै शानदार प्रदर्शन गरेर शृंखला नै जितेको हो । वेस्ट इन्डिजसँगको हिजोको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा गजबको प्रदर्शन गर्यो । कप्तान रोहित पौडेलले सिरिजअघि बोलेको कुरा प्रमाणित गरेर देखाएका छन् । उनले वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए । शृंखलाको दुई खेल मात्र सकिँदा वेस्ट इन्डिजको टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।