नवरात्रको आठौं दिन आज महाअष्टमी, महागौरी देवीको पूजा गरिंदै

हाम्रो पेज

१४ आश्विन २०८२, मंगलवार ०७:४७
विराटनगर, १४ अशोज । नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिंदैछ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म देवीको पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौं उपत्यका र बाहिरका शक्तिपीठहरुमा आज पनि भक्तजनको घुइँचो छ । नवरात्रको सातौं दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि सुरु हुने भएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ । यसै दिनदेखि बडादशैंको विशेष रौनक पनि सुरु भएको छ ।

आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको ठाउँमा राखेर पूजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।