search logo
NOTIFICATIONS

जेनजी आन्दोलनपश्चात् नेपाल प्रहरीमा व्यापक जिम्मेवारी हेरफेर

हाम्रो पेज

२ आश्विन २०८२, बिहीबार ११:५६

काठमाडौं,२ आश्विन । हालै सम्पन्न जेनजी आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै, नेपाल प्रहरीले काठमाडौँ उपत्यकासहित देशभरका प्रहरी अधिकारीहरूको जिम्मेवारीमा एकसाथ व्यापक हेरफेर गरेको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको निर्णयअनुसार ४८ जना प्रहरी उपरीक्षक एसपी र ९० जना प्रहरी नायव उपरीक्षक डीएसपीहरूको सरुवा गरिएको छ। यस सरुवाको निर्णयसँगै काठमाडौँ प्रहरी परिसरमा कार्यरत दुई एसपीहरूको पनि जिम्मेवारी परिवर्तन भएको छ। गृह मन्त्रालयले काठमाडौँ परिसरको नेतृत्व सम्हालिरहेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी को पनि तत्काल हेरफेर गर्ने तयारी गरेको छ।प्रहरी प्रधान कार्यालयका अनुसार केही स्थानमा नियमित सरुवाको समय भएकाले र अन्य स्थानमा तत्कालको आवश्यकतालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहरा र कुलदीप चन्दको सरुवा भएको छ। एसपी अपीलराज बोहरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्सालमा खटाइएको छ। उहाँको स्थानमा जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत रहनुभएका पवन कुमार भट्टराईलाई काठमाडौँ ल्याइएको छ। भट्टराईले यसअघि डीएसपीको रूपमा पनि काठमाडौँमा सफलतापूर्वक कार्यसम्पादन गरिसक्नुभएको र फिल्ड कमान्डमा उहाँको क्षमता प्रशंसनीय मानिएकाले पाँच महिनाभित्रै उहाँलाई पुनः काठमाडौँको जिम्मेवारी दिइएको हो। यसअघि कुलदीप चन्दलाई पनि काठमाडौँमा खटाइएको थियो, तर यसपटक भने एकजना मात्र एसपी राख्ने सम्भावना रहेको बुझिएको छ। चन्दको स्थानमा यादव ढकाललाई सरुवा गरिएको छ, यद्यपि उहाँको दरबन्दी लुम्बिनी प्रदेशमै रहेको छ र उहाँलाई काजमा परिसरमा खटाइएको थियो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीको पनि सरुवा भएको छ। उहाँको जिम्मेवारी अब नरेशराज सुवेदीले सम्हाल्नुहुनेछ। सुवेदी यसअघि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनमा कार्यरत हुनुहुन्थ्यो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा मोरङबाट नारायण प्रसाद चिमरिया र सिताराम रिजाललाई ल्याइएको छ। यसैगरी, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पनि एसपीहरूको हेरफेर गरिएको छ। नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षक डीएसपीहरूको पनि एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनपश्चात् एसपी र डीएसपीहरूको व्यापक सरुवा गर्नुभएको हो। यसअघि ४८ जना एसपीहरूको पनि सरुवा गरिएको थियो । सरुवा हुनेहरूमा काठमाडौँ उपत्यकाका विभिन्न वृत्तसहित अन्य कार्यालय र जिल्लाहरूका अधिकारीहरू समावेश छन्। केही जिल्ला, इलाका र वृत्तमा इन्चार्जहरू हेरफेर भएका छन्।

 

यस आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाहरूमा तीन प्रहरीसहित ७३ जनाले ज्यान गुमाउनुपरेको थियो। आन्दोलनकारीको आक्रमणमा परी ज्यान गुमाउने तीनैजना प्रहरी काठमाडौँमा कार्यरत थिए । जसमा महाराजगन्ज वृत्तका दुईजना र कोटेश्वर प्रभागका एकजना प्रहरी छन् । भदौ २३ गते प्रहरीद्वारा बल प्रयोगको घटनापश्चात् स्थिति थप बिग्रिएको थियो, जसको व्यापक आलोचना भएको थियो। प्रहरीको गोली लागी, आन्दोलनकारी आफैंले लगाएको आगोमा परी र कारागारबाट भाग्ने क्रममा कैदीमाथि गोली प्रहार हुँदा ७३ जनाको मृत्यु भएको थियो।