हाम्रो पेज
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि।सं। २०८२ सालको बडादशैंको महत्त्वपूर्ण साइतहरू सार्वजनिक गरेको छ । यस वर्षको विजयादशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे रहेको समितिले जनाएको छ । यस वर्ष दुर्गा पक्ष अर्थात् बडादशैंको सुरुवात असोज ६ गते सोमबारबाट हुनेछ । सोही दिन घटस्थापना रहेको छ, जसको शुभ साइत बिहान ९ बजेर १३ मिनेटमा तोकिएको छ । नवरात्रारम्भ पनि यही दिनबाट हुनेछ । असोज ७ गते मंगलबार बिहान ९ बजेर ५३ बजे झण्डा फेर्ने साइत रहेको छ । त्यसैगरी, असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा, असोज १३ गते सोमबार फूलपाती र श्री तुलजाभवानी यात्राको साइत बिहान ७ बजेर १७ बजे तथा स्थिरासनको साइत बिहान ९ बजेर २३ बजे रहेको समितिले जानकारी दिएको छ । असोज १४ गते मंगलबार महाअष्टमी, असोज १५ गते बुधबार महानवमी पर्व परेको छ । विजयादशमीका दिन, असोज १६ गते बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन पश्चात् दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि विशेष साइत खोज्नेहरूका लागि बिहान ११ः५३ बजेको समय उत्तम रहेको समितिले स्पष्ट पारेको छ । कोजाग्रत पूर्णिमा भने असोज २० गते परेको छ र यस दिनसँगै दशैं विधिवत् रूपमा सकिनेछ ।
