सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त, न्यायपालिकादेखि कार्यपालिकाको नेतृत्वसम्म, नेपालको इतिहासमा अर्को स्वर्णिम अध्याय

हाम्रो पेज

२७ भाद्र २०८२, शुक्रबार २०:४५

काठमाडौं, २७ भाद्र । नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान कायम गर्नुभएकी सुशीला कार्कीले अब मुलुकको कार्यपालिकाको नेतृत्व सम्हाल्ने हुन भएको छ । अवकाशको करिब आठ वर्षपछि उहाँ अन्तरिम प्रधानमन्त्रीका रूपमा मुलुकको बागडोर सम्हाल्न तयार हुनुभएको हो, जसले उहाँलाई दुईवटा सम्माननीय पदमा पुग्ने पहिलो नेपाली महिलाको गौरव प्रदान गरेको छ। विराटनगरको कानुन व्यवसायबाट आफ्नो करियर सुरु गरी सोझै सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएकी कार्की, न्यायपालिकामा रहँदा आफ्नो हक्की स्वभाव, इमान्दारिता र निडर निर्णयका लागि सधैँ चर्चाको शिखरमा रहनुभयो। उहाँको यही निष्ठा र दृढताले उहाँलाई जेन जी आन्दोलनबाट क्षतिग्रस्त मुलुकलाई स्थिरतातर्फ डोर्याउने विश्वासिलो नेतृत्वका रूपमा उभ्याएको छ। उहाँले नेतृत्व सम्हालेपछि अबको निर्वाचनपश्चात् आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने महत्वपूर्ण जिम्मेवारी बहन गर्नुहुनेछ। गत केही वर्षयता मुलुकको राजनीतिक तहमा देखिएका विकृति र विसंगतिमाथि निरन्तर तिखो टिप्पणी गर्दै आउनुभएकी कार्कीको नाममा जेन जी आन्दोलनका प्रतिनिधि, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा प्रमुख राजनीतिक दलहरूले सर्वसम्मतिले सहमति जनाएका छन्। यो सहमतिले उहाँप्रतिको राष्ट्रिय विश्वास र अपेक्षालाई स्पष्ट पारेको छ। २००९ साल जेठ २५ गते मोरङको शंखरपुरमा एक किसान परिवारमा जन्मनुभएकी कार्की सात सन्तानमध्ये जेठी हुनुहुन्छ। विराटनगरमा रहँदा बीपी कोइरालाको परिवार र प्रजातान्त्रिक आन्दोलनसँग समेत जोडिनुभएकी उहाँको शैक्षिक यात्रा पनि प्रेरणादायी छ। २०२८ सालमा महेन्द्र मोरङ कलेजबाट बीए पास गर्नुभएका उहाँले २०३१ सालमा बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभयो। भारतमा अध्ययनरत रहँदा प्रजातान्त्रिक आन्दोलनका नेताहरूको संगतका क्रममा उहाँको भेट कांग्रेस नेता दुर्गा सुवेदीसँग भयो,जससँग उहाँ वैवाहिक बन्धनमा बाँधिनुभयो। सुवेदी नेपाली कांग्रेसको २०३० सालको विमान अपहरण घटनामा समेत संलग्न एक सक्रिय प्रजातान्त्रिक नेता हुनुहुन्छ। राष्ट्रपति भवन शीतल निवासमा सुशीला कार्कीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउने तयारी भइसकेको छ। शपथ ग्रहणपश्चात् शीतल निवासमै क्याबिनेट बैठक बस्ने र उक्त बैठकले संकटकालको सिफारिस गर्ने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सो सिफारिस अनुमोदन गरेपछि विषम परिस्थितिमा प्रयोग गरिने संवैधानिक विशेषअधिकारअन्तर्गत संसद् विघटन हुनेछ। अन्तरिम प्रधानमन्त्रीसँगै कम्तीमा दुईजना अन्य मन्त्रीहरूले पनि शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ, जसमा जेन जी का प्रतिनिधि तथा मेयर बालेन शाहका सल्लाहकार समेत सामेल हुनुहुनेछ। सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र समृद्धिको नयाँ दिशा लिनेछ भन्नेमा कुनै शंका छैन। उहाँको यो नयाँ भूमिकाले नेपाली महिलाको सशक्तिकरण र राष्ट्र निर्माणमा अझ ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।