
रसुवा, १७ भाद्र । भदौ १५ गतेदेखि हराइरहेका गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका २४ वर्षीय सुदीप घले र २३ वर्षीय दावा तामाङको शव सोलेस्थित खोलामा फेला परेको छ। उनीहरू सवार लु.प्र. ३८१७ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा सडकबाट करिब २५० मिटर तल खोलामा खसेको थियो। सशस्त्र प्रहरीका अनुसार, फेला परेका दुई शवमध्ये एउटालाई रोप रेस्क्यू विधिबाट बाहिर निकाल्ने काम भइरहेको छ। अर्को शव पनि सोही खोलामा स्थानीयले देखेको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बलले जनाएको छ। सुदीप घले र दावा तामाङ भदौ १५ गते धुन्चे गएका थिए। लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि आफन्तले भदौ १७ गते जिल्ला प्रहरी कार्यालय, रसुवामा खोजीका लागि निवेदन दिएका थिए। अनुसन्धानका क्रममा नेपाली सेनाको श्रीनाथ गणले धुन्चेको चेकपोइन्टमा जडान गरेको सीसीटीभी फुटेजमा उनीहरू राति करिब १० बजे धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो। सीसीटीभी फुटेजकै आधारमा बेपत्ताहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सई मोहवीर नगालको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहितको संयुक्त टोली परिचालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानले मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेको देखिएको छ ।