
विराटनगर, १२ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सल्लाहमा सक्रिय राजनीतिमा फर्किएको दाबी गर्नुभएको छ । बिहीबार बिहान विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्मका गतिविधिहरू ओलीकै सल्लाहमा भएको जिकिर गर्नुभयो। प्रचण्डले पत्रकार सम्मेलनमा भन्नुभयो, “भण्डारीजी सक्रिय राजनीतिमा आउन चाहनुभएको कुरा स्पष्ट छ। सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीजीकै सल्लाहमा भएको हो। अध्यक्ष बनाउने कुरा पनि पहिले उनीहरूबीच भएको थियो, तर चीन भ्रमणपछि के भयो, त्यो मलाई थाहा छैन।” उहाँले पूर्वराष्ट्रपति भण्डारीसँग पछिल्लो समय कुनै भेटघाट वा संवाद नभएको पनि स्पष्ट पार्नुभयो। प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति पदमा रहिसकेका व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कनु संविधान विपरीत नहुने तर्क गर्नुभयो । नेपालको संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्कन नपाइने कुनै प्रावधान नराखेको उहाँको भनाइ थियो। उहाँले अन्तर्राष्ट्रिय अभ्यासमा राष्ट्रपति भएर पनि पुनः प्रधानमन्त्री भएका वा मेयर भएका धेरै उदाहरण विश्वमा रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपतिले राजनीति गर्न हुँदैन भन्नु कुतर्क भएको टिप्पणी गर्नुभयो । प्रचण्डले आफूले नै पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएपछि भण्डारीका लागि पनि बाटो खुलेको भनाइ राख्नुभयो । यसले संविधानको सफलताको विषयका रूपमा राष्ट्रपतिहरू राष्ट्रिय राजनीतिमा पनि आउन सक्ने उहाँले बताउनुभयो । प्रचण्डले जनार्दन शर्मा प्रभाकर ले नपत्याउँदैमा माओवादी इतिहास र आन्दोलन नरोकिने बताउनुभयो। पार्टीभित्र स्वार्थ समूह रहेको र त्यसको पहिचान समेत भइसकेको जानकारी दिनुभयो । “पार्टीको विधि र पद्धति र लिडरसिप भन्दा स्वार्थमा केन्द्रित भएर मिटिङ बैठक गर्ने नै स्वार्थ समूह हुन्,” उहाँले भन्नुभयो। प्रचण्डले वर्तमान गठबन्धनले संविधानसँग जोडिएका ऐन कानुन बनाउन अल्छी देखिएको आरोप लगाउनुभयो।

नेपालको संविधान राम्रो भए पनि संविधानसँग जोडिएको ऐन कानुन नबन्दा संविधान कार्यान्वयनमा समस्या आएको उहाँको भनाइ थियो। “संविधान कार्यान्वयनमा एउटा पक्षले संविधानसँग जोडिएको ऐन कानुन बनाउन अल्छी देखायो। जसका कारण प्रहरी समायोजन ऐन, सङ्घीय निजामती ऐनहरू नबन्दा संविधान कार्यान्वयनमा समस्या आएको छ,” उहाँले भन्नुभयो। उहाँले अहिले जनता यो सरकारसँग आक्रोशित भएको पनि बताउनुभयो । भारत र चीनले लिपुलेक हुँदै व्यापार गर्ने गरी गरेको सम्झौताको विषयमा प्रचण्डले संवादबाट सिमानाको विवाद समाधान गर्नु पर्ने बताउनुभयो। उहाँले आफू प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा वार्ताबाट समस्या समाधान गर्ने सहमति भएको उल्लेख गर्नुभयो । प्रचण्डले देशको राजनीतिक परिस्थितिको सापेक्षमा र अन्तर्राष्ट्रिय परिस्थितिको सापेक्षमा धेरै राम्रो संविधान बनेको दाबी गर्नुभयो। उहाँले संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन वा प्रहरी समायोजन ऐन कार्यान्वयन गर्ने कुराले यो संविधानको सफलतामाथि धेरै ठूलो प्रभाव पार्ने र अहिलेका प्रमुख पार्टीको रुचि नहुनुको कारणले संविधान कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।