search logo
NOTIFICATIONS

बंगालको खाडीको प्रभावले मनसुन सक्रियःदेशभर भारी वर्षाको सम्भावना, काठमाडौँमा १५ घण्टादेखि अविरल वर्षा

हाम्रो पेज

१२ भाद्र २०८२, बिहीबार १२:०१

काठमाडौँ, १२ भाद्र । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको र बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेकाले देशभर मनसुन सक्रिय भएको जनाएको छ। यसको असरस्वरुप देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ। यस्तै राति देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले भारी वर्षाका कारण निम्तिन सक्ने विभिन्न जोखिमहरूबारे सचेत गराउँदै पूर्वतयारी गर्न अनुरोध गरेको छ । पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव डेब्रिज फ्लोको जोखिम बढ्नेछ। ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। यस्तै वर्षाका कारण सडक चिप्लो हुने र बाढी, पहिरोले यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले यात्रामा निस्कनेहरूलाई सावधानी अपनाउन भनिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा गएरातिदेखि लगातारजसो वर्षा भइरहेको छ। बुधबार बेलुका ६ बजेदेखि काठमाडौँ उपत्यकामा वर्षा सुरु भएको र बिहीबार बिहान ९ बजेसम्म १५ घण्टादेखि अविरल वर्षा भइरहेको उहाँले बताउनुभयो। आज काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम रहेको र दिनभर बदली तथा वर्षा जारी रहने उहाँले बताउनुभयो। यद्यपि, हालसम्मको अवस्थामा वर्षाका कारण विमानस्थलबाट हुने उडानमा ठूलो समस्या नहुने उहाँको भनाइ छ । मौसमविद् ढकालका अनुसार बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाका कारण नेपालमा मनसुन थप सक्रिय भएको हो। ूआज दिनभर र राति पनि वर्षा जारी नै रहने देखिन्छ, भोलि शुक्रबार भने केही कम हुने सम्भावना छ । आगामी २४ देखि ४८ घण्टासम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न महाशाखाले विशेष अनुरोध गरेको छ।