
काठमाडौं, १० भाद्र । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी गतिविधि केही कमजोर बनेको छ, जसका कारण केही दिनयता हुँदै आएको भारी वर्षाको क्रम रोकिएको छ। हाल मनसुनको न्यूनचापीय रेखा आफ्नो औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको प्रभाव कम देखिएको हो। पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा मात्रै मापन गरिएको छ। यस अवधिमा काठमाडौंको बूढानीलकण्ठमा ४७ मिलिमिटर र लमजुङको बेसीसहरमा ५५ मिलिमिटर वर्षा रेकर्ड भएको विभागले जनाएको छ। आज दिनभर देशका पहाडी भू भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम आंशिक बदली हुनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थानहरूमा र तराईका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै आज रातमा पनि पहाडी भू भागमा सामान्यतया बदली रही अन्य स्थानमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागका थोरै स्थानहरूमा तथा देशका अन्य भू भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
