१० वर्षपछि एमाले मोरङ कार्यालयमा विद्या भण्डारी,कार्यकर्ता भेटघाटलाई लिएर संस्थापन पक्षसँग खटपट

हाम्रो पेज

३ भाद्र २०८२, मंगलवार १३:०४

विराटनगर ३ भाद्र । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी १० वर्षको लामो अन्तरालपछि आज मंगलबार मोरङको पार्टी कार्यालय पाञ्चाली जाँदै हुनुहुन्छ। तर, उहाँको यो भ्रमणलाई लिएर एमाले कोशी प्रदेशको संस्थापन पक्ष र भण्डारी पक्षबीच विवाद चर्किएको छ। भण्डारीले दिउँसो पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएपछि प्रदेश अध्यक्ष घनश्याम खतिवडा र विराटनगर इन्चार्ज परशुराम बस्नेत लगायतका संस्थापन पक्षका नेताहरूले कार्यक्रम नगर्न र सहभागी नहुन कार्यकर्तालाई दबाब दिएको भण्डारी पक्षको आरोप छ। उता, एमाले मोरङका सचिव सोमराज थापाले भने भण्डारीको कुनै औपचारिक कार्यक्रम नरहेको र काठमाडौं फर्कनुअघि पार्टी कार्यालय भवनको अवलोकन मात्र गर्न लागेको बताउनुभएको छ। यो विवादले एमालेभित्रको गुटगत राजनीतिलाई पुनः सतहमा ल्याएको छ, विशेषगरी एमाले मोरङ र विराटनगर महानगर कमिटीमा भण्डारी पक्षको बलियो पकड रहेको मानिन्छ।सोमबार विराटनगर आइपुग्नु भएकी भण्डारीले राजनीतिक भेटघाटलाई तीव्रता दिनु भएको छ ।

उहाँले बसेको विग होटलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा अन्य मन्त्रीहरूसँग भेटवार्ता गर्नुभएको छ । भण्डारीको सचिवालयका अनुसार, सुरुमा मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राईसँग सामूहिक भेट भएको थियो। त्यसपछि मन्त्रीहरू बाहिरिएलगत्तै मुख्यमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच करिब एक घण्टा लामो एकल वार्ता भएको थियो। स्रोतका अनुसार, भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेश सरकारका गतिविधिबारे गम्भीर छलफल भएको थियो। भण्डारी पक्षका एक नेताले संस्थापन पक्षले कार्यकर्तालाई फोन गरेर कार्यक्रममा नजान दबाब दिइरहेको आरोप लगाएका छन् । पार्टी सत्ताको तुजुक देखाएर कार्यकर्तालाई धम्क्याउने काम भइरहेको छ, ती नेताले भने, पार्टीको एक अग्रज नेता आफ्नो कर्मथलोको पार्टी कार्यालय आउँदा नजानु भनेर दबाब दिनु त्रस्त मानसिकताको उपज मात्र हो। तर, कार्यकर्ताको भव्य उपस्थिति रहनेछ। भण्डारी एमालेको पूर्व उपाध्यक्ष र संगठित सदस्यको रूपमा पार्टी कार्यालय आउनु स्वाभाविक भएको भन्दै उहाँको पक्षका नेताहरूले संस्थापन पक्षले यसलाई अनावश्यक रूपमा लिएको टिप्पणी गरेका छन्। पूर्वराष्ट्रपति भण्डारी आज दिउँसो पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गरेर काठमाडौं फर्कने कार्यक्रम रहेको छ।